रामनारायण ठाकुर, सिरहा चैत १३– नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सिरहाको मिर्चैयामा मसाल जुलुस तथा विरोध प्रदर्शन गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताको सहभागितामा मिर्चैयाको कटारी चोकमा मसाल जुलुस निकालिएको हो। प्रदर्शनका क्रममा सरकारविरुद्ध नाराबाजी गर्दै कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गरिएको थियो।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामनारायण साह (सुनिल)को समेत उपस्थिति रहेको थियो। उनले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय विद्युत् सुधारको बाधक भएको भन्दै तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिए।
प्रदर्शनकारीहरूले सरकारको निर्णयविरुद्ध आक्रोश व्यक्त गर्दै कुलमान घिसिङकै नेतृत्वमा विद्युत् सुधार सम्भव हुने भन्दै पुनर्बहालीको माग गरेका छन्।




