रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भारत र पाकिस्तानबीचको युद्धले नेपाली लाहुरेहरू र उनीहरूको परिवारमा ठूलो चिन्ता र त्रास

[sharethis-inline-buttons]

३० वैशाख, जनकपुरधाम । १।२ महिना लगाएर हुलाकबाट आइपुग्ने लाहुरेका चिठी । घरबुना झोलामा राखेर चिठी पुर्‍याउँदै हिँड्ने हलकारा । लाहुरे आउँदा बस्तीभरि छाउने खुसी । जीवनकै लयलाई प्रलय बनाइदिने लाहुरबाट आइपुग्ने धागोले बाँधेका चिठी । लाहुरे संस्कृतिबाट यी कुरा अहिले हराउँदै गए तर, भावना ताजै छन् ।प्रविधिको तीव्र विकासले अहिले छिनमै आइपुग्छ लाहुरे र उनीहरु खटिएको ठाउँको खबर । यसरी नै उतिबेलै आइपुग्यो, भारत र पाकिस्तानबीच जम्मु–कश्मिरमा लडाइँ चलेको खबर ताङतिङ कास्कीका दुर्गाबहादुर गुरुङको घरसम्म । जम्मु–कश्मिर, जहाँ दुर्गाबहादुरका भाइ उमराज युद्धमैदानमा छन् । उमराजले घरमा फोन गरेर भनिसकेका थिए, ‘युद्ध सुरु भयो, यसकै लागि भर्ती भएकाले लड्नै पर्‍यो । कतिदिन चल्छ थाहा छैन तर मेरो चिन्ता नलिनु ।’ परिवार, आफन्तको मन न हो, जति छिटो लडाइँको खबर आयो, त्योभन्दा तीव्र गतिमा डर र चिन्ता फैलियो । २२ अप्रिल २०२५ ९९ वैशाख २०८२० मा जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला भएलगत्तै भारत सरकारले सेनालाई तम्तयार पार्दै भनेको थियो, ‘फेरि पनि हमला हुन सक्छ, अब साहसका साथ जवाफ दिनुपर्छ। दुश्मनसँग लड्नकै लागि कसम खाएर भारतीय सेनामा भर्ती भएका कास्की ताङतिङका उमराज गुरुङ जम्मुकश्मिरमा तैनाथ थिए । पहलगाममा १ नेपालीसहित २६ जनाको ज्यान गएपछि भारतमात्रै होइन, सिंगो विश्वलाई नै तरंगित पारेजस्तै उमराजमा पनि रगत उम्लिएको थियो । पहलगाममा पाकिस्तानले नै हमला गरेको निश्कर्षसहित भारतले त्यसको जवाफ दिने तयारी गरेर सेनाहरुलाई छुट्टी नबस्न भनेको थियो । छुट्टीमा रहेकाहरुलाई पनि हाजिर हुन उर्दी जारी गरेको थियो । पहलगाम हमलाको १५ दिनपछि भारतले पाकिस्तान नियन्त्रित कश्मिरलाई लक्षित गरी मिसाइल आक्रमण गर्‍यो । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको त्यो आक्रमणपछि दोहोरो लडाइँ सुरु भयो । करिब १४ वर्ष पहिले भर्ती भएका उमराजका निम्ति लडाइँको पहिलो अनुभव थियो । भारत–पाकिस्तानका लडाकु विमान आकासमा घुम्न थाले । उज्यालो जम्मु–कश्मिरमा एकाएक अँध्यारो छाउन थाल्यो र गोलाबारी चल्यो । भारत–पाकिस्तान तनावले विश्वकै ध्यान खिच्यो । छिमेकमा चलेको संघर्षले नेपालतिर भने लाखौं मानिसलाई चिन्तित र त्रसित बनाइदियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर