धनुषा — ऐतिहासिक धनुषाधाम नगरपालिका–३ स्थित हनुमान मन्दिरको सभाहलमा बिहीबार सम्पन्न बैठकले धनुषाधाम उद्योग वाणिज्य संघको पूर्ववर्ती कार्यसमिति विघटन गर्ने निर्णय गर्दै, नयाँ नेतृत्व चयन प्रक्रियाका लागि तीन सदस्यीय तदर्थ समिति गठन गरेको छ।
नवगठित तदर्थ समितिको संयोजकमा मुकेश कुमार ठाकुर चयन भएका छन् भने सदस्यमा देवशरण कापर र दिनेश शर्मा रहेका छन्। संघको आगामी अधिवेशन सम्पन्न नभएसम्मको अवधिका लागि समितिलाई संघको समग्र जिम्मेवारी प्रदान गरिएको छ।
उक्त बैठकको अध्यक्षता तत्कालीन अध्यक्ष किशोरी ठाकुरले गरेका थिए। बैठककै अवसरमा उनले तदर्थ समितिका संयोजक मुकेश कुमार ठाकुरलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण पनि गरे। यस अवसरलाई एक प्रकारको “माइनेटिङ” समारोहको रूपमा लिइएको थियो, जसले नेतृत्व हस्तान्तरण प्रक्रियालाई थप गरिमामय बनाएको छ।
बैठकमा संघका पदाधिकारी, सल्लाहकार तथा विभिन्न व्यवसाय क्षेत्रका व्यापारीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले संगठनमा नयाँ ऊर्जा, पारदर्शिता र सुशासन कायम गर्न विघटन र तदर्थ समिति गठनको निर्णयलाई सकारात्मक रूपमा लिएका छन्।
संघको आगामी अधिवेशनमार्फत पूर्ण कार्यसमिति सर्वसम्मत ढंगले चयन गरिने लक्ष्य रहेको ठाकुरले बताइएको छ।




