रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पानी संकटमा दीर्घकालीन समाधानको आग्रह: पर्यावरण अभियानी देवनारायण मण्डलको चेतावनी

[sharethis-inline-buttons]

 

जनकपुरधाम, साउन ८ – हालैका दिनहरूमा मधेशको विभिन्न क्षेत्रमा पानीको चरम अभाव भोगिरहेका सर्वसाधारणहरूलाई राहत स्वरूप जार, ट्यांकर, दमकलबाट पानी वितरण भइरहेको बेला वातावरण अभियानी देवनारायण मण्डलले यस्ता अल्पकालीन ‘स्टन्ट’ भन्दा दीर्घकालीन समाधानको आवश्यकता औंल्याएका छन्।

मण्डलले टिप्पणी गर्दै भने, “एउटा २० लिटरको पानीको जार ६० रुपैयाँमा पाइन्छ, जुन प्रति लिटर ३ रुपैयाँ मात्र पर्छ। तर अहिलेको अवस्था यस्तो छ कि कुनै मधेशीले ३० डिग्रीभन्दा माथिको तापक्रममा ३० रूपैयाँको १० लिटर पानीका लागि ३० मिनेट लामो लाइनमा उभिनु परिरहेको छ।”

उनी भन्छन्, “यी दृश्यहरू देखेर लाग्छ — प्रकृतिले अहिलेको भिखारी मानसिकतालाई एक किसिमको आईना देखाइरहेको छ। समाजका नाममा लाखौं खर्च गरेर मेला, चन्दा र डीजे कार्यक्रम गर्न सक्नेहरूलाई ३० रूपैयाँको पानीका लागि लाइन लाग्न लाज लाग्दैन ?”

मण्डलले एन.जि.ओ. तथा आई.एन.जि.ओ.हरूलाई लक्षित गर्दै भने, “यी संस्थाहरूलाई ‘बिपद् पर्यटन’ को लागि सस्ता मर्सिया कन्टेन्ट चाहिन्छ। त्यसैले अल्पकालीन देखिने तर फोटो सुट अनुकूल कार्यहरू प्राथमिकता पाउँछन्।”

उनी थप्छन्, “रु. १ लाख ६० हजारमा ४५० फिट गहिराइको चापाकल ४-५ घण्टामा जडान गर्न सकिन्छ। एउटा चापाकलले ५० परिवार, अर्थात् झन्डै ३०० जनालाई ४-५ वर्षसम्म नियमित पानी दिन सक्छ। यस्ता समाधानहरू स्थायी पनि छन्, प्रभावकारी पनि।”

उनको अनुसार, अहिलेको पानी वितरणभन्दा ती वितरणकर्ताहरूको टोली सञ्चालन खर्च नै बढी हुन सक्छ।

मण्डलले सरकार र दाताहरूलाई चुरे संरक्षणमा ध्यान दिन आग्रह गर्दै भने, “मधेशमा पानीको संकट समाधान गर्न चुरेमा अवैज्ञानिक दोहन रोक्नै पर्छ। चुरे क्षेत्रमा हजारौं सिलेर्टेशन ट्यांकी बनाएर त्यहीँको पानी त्यहीँ खपत गरियो भने मधेशको मुहान सुक्ने अवस्था कम गर्न सकिन्छ।”

“यो संकटलाई देखावटी दया होइन, दीर्घकालीन योजना र नीतिगत हस्तक्षेप चाहिन्छ,” मण्डलको प्रष्ट सन्देश थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर