रामनारायण ठाकुर,सिरहा — मैथिली भाषामा निर्मित चर्चित कथानक चलचित्र कलकतियावालीू आज सिरहाको कल्याणपुर नगरपालिकाको ग्रामीण बजार क्षेत्रमा भव्य रूपमा प्रदर्शन गरिएको छ।
चलचित्रको औपचारिक उद्घाटन मधेस प्रदेशका सांसद राजेन्द्र चौधरी र कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा यादवले संयुक्त रूपमा गर्नुभएको थियो।
प्रदर्शनको क्रममा चलचित्रकी प्रमुख नायिका अन्सा सादाको हालै भएको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष श्रद्धाञ्जली सभा समेत आयोजना गरिएको थियो। कार्यक्रममा चलचित्रका सम्पूर्ण कलाकारहरू उपस्थित रहेर दर्शकहरूसँग संवाद र साक्षात्कार गरेका थिए।
स्थानिय दर्शकहरूको उल्लेखनीय उपस्थिति र उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझै जीवन्त बनाएको थियो।
चलचित्र कलकतियावालीू ले मैथिली भाषा, संस्कृति र स्थानीय कथावस्तुलाई उजागर गर्ने प्रयास गरेको छ। अन्सा सादाको निधनपश्चात आयोजित यो विशेष प्रदर्शनले उनीप्रति सम्मान व्यक्त गर्नुका साथै चलचित्रप्रति जनसमर्थन समेत देखाएको छ।




