बागलुङ, साउन १५ – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८, कादेश आमामा एक दुर्लभ जैविक घटना देखिएको छ। स्थानीय एक भैँसीले दुई वटा टाउको भएको पाडी जन्माएपछि त्यस क्षेत्रका बासिन्दा अचम्मित भएका छन्।
एकै शरीर र दुई टाउको रहेको यो पाडीलाई पशु विज्ञहरूले बहु(शिर भएको जीवको दुर्लभ अवस्थाका रूपमा लिएका छन्। यस्तो प्रकारको जैविक विकृति पशुहरूमा निकै कम देखिने भएकाले यो घटना भेटेरिनरी अनुसन्धानका लागि महत्वपूर्ण विषय बन्न पुगेको छ।
स्थानीयहरूका अनुसार पाडीको स्वास्थ्य अवस्था प्रारम्भिक रूपमा जटिल देखिए पनि अहिलेपनि जीवित रहेको बताइएको छ। यस्ता घटनाले वैज्ञानिक अनुसन्धानी पक्षलाई चासो दिइरहेको छ।
घटनास्थलमा पुगेका स्थानीय युवा बिक्रम आचार्य र बिना बरालले खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
यसरी प्रकृतिले कहिलेकाहीँ दिएको अनौठो चमत्कारले गाउँमा चर्चा मात्र होइन, पशु स्वास्थ्य क्षेत्रमा पनि गम्भीर बहस जन्माएको छ।




