जनकपुरधाम, साउन १६ ।
१ अगस्तदेखि ७ अगस्तसम्म विश्व स्तनपान सप्ताहू को अवसरमा प्रदेशस्तरीय पोषण प्राविधिक समितिको बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ।
तालिम केन्द्र पथलैयाका निर्देशक डा। राजीवकुमार झाको अध्यक्षतामा बसेको बैठकमा मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउन स्तनपानलाई उच्च प्राथमिकता दिई सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
बैठकमा बोल्ने वक्ताहरूले पोषणको अवस्थालाई प्रभावकारी ढंगले सुधार गर्न स्थानीय तहबाटै सक्रिय पहल आवश्यक रहेको औँल्याएका थिए। समितिका सदस्यहरूबीच पोषणसम्बन्धी तालिम, जनचेतना कार्यक्रम र मातृ–शिशु मैत्री स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
डा. झाले बैठकमा प्रदेशभर कुपोषणको दर घटाउन र समुदायमै आधारित पोषण सुधार कार्यक्रमलाई विस्तार गर्न नीति तथा कार्यक्रमलाई अझ व्यावहारिक र स्थानीय आवश्यकता अनुसार बनाउने प्रतिबद्धता जनाएका थिए।
बैठकमा स्वास्थ्य तथा पोषण क्षेत्रका विज्ञ, प्रदेश सरकारका प्रतिनिधिहरू, सरोकारवाला निकायका अधिकारी तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।




