कंचन कुमारी ठाकुर, धनुषा – साउन १७
धनुषा जिल्लाको सबैला नगरपालिका–९, भठियनबजारस्थित दशकौँदेखि बन्द रहँदै आएको ऐतिहासिक ‘सुशीला टाकिज’ पुनः सञ्चालनमा आउने तयारी पूरा भएको छ।
चलचित्रघरका संचालक गुरुदेव यादवका अनुसार जिर्ण अवस्थामा रहेको टाकिजलाई पुरानै स्वरुपमा संरक्षण गर्दै आधुनिक प्रविधिसहित पुनः सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ। उहाँका अनुसार दैनिक तीनवटा शो सञ्चालन हुनेछन्।
‘सुशीला टाकिज’को पुनरागमन मैथिली भाषाको चर्चित कथानक फिल्म ‘कल्कतियावाली’ बाट हुँदैछ। कलाकार अभिनाश झा उर्फ कल्कतियावाली, आशिका भुजेल, दिवंगत स्व। अन्सा झा, मन्सा सादा र चर्चित हास्यकलाकार रामनारायण ठाकुरको अभिनय रहेको फिल्म दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।
सञ्चालक यादवले बताए अनुसार टाकिजमा स्पेसल तथा बालकोनी सिटको व्यवस्था गरिएको छ जसले दर्शकलाई विशेष अनुभव दिनेछ। “सिर्फ चलचित्र मात्र होइन, सुशीला टाकिजलाई फेरि चलायमान बनाउने हाम्रो अभियान हो,” उहाँले भन्नुभयो।
स्थानीयस्तरमा उत्साहको माहोल देखिएको छ। मैथिली चलचित्रको विकाससँगै स्थानिय रोजगारी, सांस्कृतिक संरक्षण र मनोरञ्जन क्षेत्रमा पनि टाकिजले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।




