रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ढल्केवरमा वेश्यावृति धन्दा सञ्चालन आरोपमा होटल सञ्चालक पक्राउ

[sharethis-inline-buttons]

२५ साउन, धनुषा । ढल्केवरस्थित मौसम होटलका सञ्चालक वेश्यावृति धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका छन्।

स्थानीय सचेत युवाहरुले होटलमा खुलेआम अवैध यौन क्रियाकलाप भइरहेको आशंकामा बिहीबार राति करिब ९ बजे छड्के गरेको थिए। छड्केका क्रममा आपत्तिजनक गतिविधि फेला परेपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरेका थिए।

युवाहरुको आरोप अनुसार, सूचना पाएर आएका प्रहरी अधिकारीहरूले संलग्न व्यक्तिहरूलाई नै भगाएको आशंका गरिएको छ। “प्रहरीले महिनावारी रकम असुल्ने गर्छन्, पैसा खाएपछि त्यस्ता धन्दामा संलग्नलाई पक्राउ गर्दैनन्,” नाम नखुलाउने शर्तमा एक स्थानीय युवकले भने, “अब हामी चुप लागेर बस्दैनौं, यस्ता गतिविधि लखेट्नै पर्छ।”

स्थानीय युवाले कैद गरेको भिडियोमा होटल सञ्चालकले ग्राहकसँग दररेट तोक्दै ‘तीन हजारको छ, २५ सयको छ, जस्तो चाहियो लिनुस्’ भन्ने दृश्य देखिन्छ। सोही भिडियोका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरले होटल सञ्चालकलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केवरका एक अधिकारीका अनुसार, होटल सञ्चालकलाई अवैध धन्दाको मोलमोलाइ गरेको प्रमाणसहित पक्राउ गरिएको हो। “इन्सपेक्टर साब विदामा हुनुहुन्छ, भोलि आएपछि थप कारबाहीबारे निर्णय हुनेछ,” अधिकारीले जानकारी दिए।

स्थानीयको भनाइमा ढल्केवर, जोमनिवास र गोदार हाइवे क्षेत्रमा रहेका अधिकांश होटलहरूमा प्रहरीको मौन समर्थनमा यौनजन्य क्रियाकलाप चल्दै आएको छ। समाजमा गलत सन्देश फैलाउने यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासन सक्रिय नदेखिएपछि स्थानीय युवाहरु आफैं अग्रसर बनेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर