धनुषा, २७ साउन —
धनुषा जिल्ला स्थित बार एशोसिएसन र पत्रकारबीच भएको झडपमा आधा दर्जन पत्रकार घाइते भएका छन्। नेपाल पत्रकार महासंघ मधेशले गुठी संस्थानसँग विधिवत सम्झौता गरेर प्राप्त गरेको जग्गा रक्षार्थ पुगेका पत्रकारहरूलाई करिब पाँच दर्जन कानुनका विद्वान वकिलको समूहले आक्रमण गरेको आरोप लागेको छ।
आक्रमणमा परि महासंघका प्रदेश अध्यक्ष श्याम प्रसाद बनजारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, धनुष टिभीका अनिल कुमार निराला, पत्रकार दिवाकर रायसहित दर्जन पत्रकारमध्ये आधा दर्जन पत्रकार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।
घाइतेमध्ये प्रदेश अध्यक्ष बनजाराको दायाँ हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने महासचिव ‘क्रान्ति’को दायाँ खुट्टाको हड्डी भाचिएको छ।यसैगरी पत्रकार निरालाको दाहिने कन्चटमा चोट पुगेको छ। त्यस्तै, पत्रकार रायको टाउको तथा खुट्टामा चोट लागेको उपचारमा सङल्न चिकित्सकले जनाएको छ।
नेपाल पत्रकार महासंघ मधेशले यस घटनाप्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेको छ। सञ्चारकर्मीहरूले घटनालाई प्रेस स्वतन्त्रतामाथिको खुला आक्रमणको रूपमा लिएका छन्।




