जनकपुरधाम — कलर्स एफएम १०२.४ मेगाहर्जले निरन्तर छ वर्षको सफल प्रसारण पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सञ्चालक रुपेश सिंहले रेडियोको स्थापना र चुनौतीपूर्ण यात्राबारे अनुभव बाँडे।
सिंहका अनुसार उनले १३ वर्षसम्म रेडियो मिथिलामा काम गरेका थिए। त्यसपछि नयाँ रेडियो खोल्ने विचार आएपछि चार–पाँच जना साथीहरू मिलेर पचास लाख लगानीमा कलर्स एफएमको स्थापना गरिएको हो। हाल जनकपुरधाममा धेरै श्रोताले सुन्ने लोकप्रिय रेडियोका रूपमा कलर्स एफएम स्थापित भएको उनले बताए।
“रेडियो चलाउन धेरै समस्या र कठिनाइ छन्, तर हामीले सबै बाधा पार गर्दै अगाडि बढिरहेका छौँ। आगामी वर्ष अझ राम्रो काम गर्ने योजना छ,” सिंहले भने।
कार्यक्रममा संस्थापक, पूर्व निर्देशक, सल्लाहकार, सञ्चारकर्मी र शुभेच्छुकहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कलर्स एफएमका पत्रकार धिरेश दत्तले गरेका थिए। वक्ताहरूले कलर्स एफएमलाई प्रदेशकै अग्रणी रेडियोका रूपमा अझ मजबुत बनाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।





