धनुषा — मिथिला नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका सबै डान्स बार ७ दिनभित्र अनिवार्य रूपमा बन्द गर्न निर्देशन दिएको छ। समाजमा उच्छृङ्खलता फैलिनु र आपराधिक गतिविधि बढ्नेसहितका गुनासोहरू बढेपछि नगरपालिकाले बिहीबार यस्तो निर्णय गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले सार्वजनिक सूचना जारी गर्दै विभिन्न अन्य व्यवसाय सञ्चालन गर्ने अनुमति लिई डान्स बार सञ्चालन गरेको पाइएकाले यो गतिविधिले नकारात्मक सामाजिक असर पारिरहेको उल्लेख गरेका छन्।
सूचनामा भनिएको छ, “मिथिला नगरपालिका भित्र विभिन्न अन्य व्यवसाय संचालन गर्ने गरी अनुमति लिई डान्स बार संचालन गरेको कारण समाजमा उच्छृङ्खलता बढी, आपराधिक कृयाकलापलाई बढावा मिलेको देखिएको व्यहोरा व्यापक जनगुनासो प्राप्त भएको हुँदा यस नगर क्षेत्रभित्र संचालनमा रहेका डान्स बारहरू यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र अनिवार्य बन्द गर्न/गराउन हुन अनुरोध गरिन्छ।”
भण्डारीले तोकिएको समयसीमा भित्र निर्देशन पालना नगर्ने व्यवसायीमाथि सम्बन्धित कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिएका छन्।
स्थानीय एक महिलाले भनिन् डान्स बार बन्द गर्ने नगरपालिकाको निर्णयप्रति धेरै स्थानीयले समर्थन जनाएका छन्। उनीहरूको भनाइमा, यसले नगर क्षेत्रमा युवामाझ फैलिरहेको विकृति–विसंगति घटाउनेछ र सामाजिक मर्यादा कायम गर्न मद्दत पुर्याउनेछ। तर, केही व्यवसायीहरूले भने रोजगारी गुम्ने र लगानी डुब्ने चिन्ता व्यक्त गरेका छन्।
कानूनी आधार,नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै सार्वजनिक स्वास्थ, सुरक्षासहित सामाजिक मर्यादा कायम राख्ने उद्देश्यले डान्स बार बन्द गर्ने आदेश दिएको जनाएको छ।





