जनकपुरधाम भाद्र ७ गते । रोम , संयुक्त राष्ट्रसंघले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्याएको आरोप लगाएका छन् । यससँगै राष्ट्रसंघले अनिकालको घोषणा गरेको हो । तर, इजरायलको विदेश मन्त्रालयले राष्ट्रसंघको घोषणाप्रति तीव्र असन्तुष्टि जनाएको छ । गाजा सहर र आसपासमा अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झुटमा आधारित’ रहेको मन्त्रालयको दाबी छ । ‘गाजामा कुनै अनिकाल छैन,’ मन्त्रालयले भनेको छ । मध्यपूर्वमा अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले जानकारी दिएका छन् ।आसन्न संकटबारे चेतावनी दिने जिम्मा पाएको राष्ट्रसंघको अनुगमनकर्ताहरूको गठबन्धन ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी) ले अनिकालको आकलन गरेको थियो । आईसीपीले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ । गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । प्रत्येक १० हजार मानिसमध्ये कम्तीमा दुईजनाको दैनिक भोकमरी वा कुपोषण र रोगका कारण मृत्यु हुने गरेको छ । राष्ट्रसंघका निकायहरूले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि अवस्था झनै बिग्रिएको र गाजामा महिनौंदेखि मानवीय अवस्था दयनीय बन्दै गएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




