बथनाहा, भदौ १३ ।
५६ औं वाहिनी मुख्यालय एस.सी.बी. बथनाहा तथा सबै बाहिरी सीमा चौकीहरूको क्षेत्राधिकारभित्र प्राप्त खुफिया सूचनाअनुसार तीन पाकिस्तानी आतंककारीहरू — हसनैन अली, आदिल हुसेन र मोहम्मद उस्मान — नेपाल हुँदै बिहार प्रवेश गर्ने तयारीमा रहेको आशंका बढेसँगै सुरक्षा निकाय उच्च सतर्क अवस्थामा छन्।
आन्तरिक सुरक्षालाई ध्यानमा राख्दै कोर मुख्यालय, सशस्त्र सीमा बल (एसएसबी), बिहार प्रहरी र डग स्क्वाड टोलीको सहकार्यमा बजार तथा सीमा क्षेत्रमा संयुक्त गस्ती र सघन जाँच गरिएको छ।
गस्तीको क्रममा स्थानीयवासीलाई आतंककारीहरूको तस्बिर देखाइ सर्तक रहन आग्रह गरिएको छ। साथै, गाउँ–बजारमा कुनै अपरिचित वा शंकास्पद व्यक्ति देखिएमा तुरुन्तै प्रहरी वा एसएसबीलाई जानकारी दिन अनुरोध गरिएको छ।
यसैबीच, आतंककारीहरूको खोजी तथा जनसचेतना अभिवृद्धिका लागि मुख्य सडक, पसल र वरपरका क्षेत्रमा पोस्टर टाँस्ने काम समेत गरिएको छ।
यस संयुक्त अभियानमा एसएसबीका उच्च अधिकारीदेखि मातहत सुरक्षाकर्मीहरू, अन्य बलका सदस्य तथा बिहार प्रहरीका अधिकारी र जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




