धनुषा, हंसपुर – हंसपुर नगरपालिका–७, नौवाखोरमा जितमहान मेलाको विधिवत् शुभारम्भ गरिएको छ। कलश शोभायात्रा सरोबर जल भरी गाउँ परिक्रमा गर्दै जितमहान मन्दिरमा कलश राखी आमा दिदीबहिनीहरूले आफ्ना सन्तान तथा परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै भगवान जितमहानसँग आशीर्वाद लिएका छन्।
मेला समितिका अध्यक्ष रामप्रकाश मण्डल, सचिव ललन मण्डल, पूर्ववडा अध्यक्ष रामसेवक मण्डल, वडा सदस्य सुनिल मण्डलसहित समाजसेवी, बुद्धिजीवी, युवा, महिला, किसान र मजदुरहरूको उपस्थितिमा एक समारोहबीच लोसपा मधेस प्रदेश उपाध्यक्ष तथा हंसपुर नगरपालिकाका पूर्वमेयर रामज्ञान मण्डलले रिबन काटी मेलाको उद्घाटन गर्नुभयो।
उद्घाटन गर्दै मण्डलले मेला समिति र सम्पूर्ण गाउँवासीप्रति आभार प्रकट गर्दै भगवान जितमहानले शान्ति, समृद्धि र प्रगतिका लागि आशीर्वाद दिऊन् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

							
                

				
																			
																			
																			
																			
																			
																			
