धनुषा । मधेस प्रदेशको धनुषा जिल्लाको ऐतिहासिक तथा धार्मिक नगरी धनुषाधामबाट पहिलो ग्रामीण भेगको रूपमा प्रसारण भइरहेको रेडियो धनुष ९९.७ मेगाहर्जमा यस वर्षको विश्वकर्मा पूजा भव्य तथा विधिपूर्वक सुरु भएको छ । पूजा भोलि सम्पन्न हुने कार्यक्रम रहेको छ ।
देशभर रेडियोको अवस्था चुनौतीपूर्ण बन्दै गएको समयमा पनि रेडियो धनुषले ‘पलपलको खबर’देखि मनोरञ्जनात्मक कार्यक्रमहरूसम्म निरन्तर प्रसारण गर्दै श्रोता माझ लोकप्रियता कायम गर्न सफल भएको छ ।
आजको कार्यक्रममा जनप्रतिनिधि, संघसंस्थाका अध्यक्ष, प्रमुख राजनीतिकर्मी, समाजसेवी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत विभिन्न पेशामा संलग्न व्यक्तिहरूको सहभागिता रहेको थियो । पूजापश्चात प्रसाद ग्रहण गर्न आएका सयौं भक्तजनले वातावरणलाई उल्लासमय बनाएका थिए ।
आगन्तुकहरूले रेडियो धनुषले धनुषा जिल्लामात्र नभई सिरहा, महोत्तरी, सिन्धुली, ओखलढुंगा, उदयपुरसहित भारतको बिहार राज्यसम्म प्रसारण पुर्याएर लोकप्रिय बनेको प्रतिक्रिया दिएका छन् ।

							
                

				
																			
																			
																			
																			
																			
																			
