रामनारायण ठाकुर
मिर्चैया (सिराहा), असोज ३१ — “हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भेषभूषा जोगाऔँ” भन्ने नाराका साथ सिरहाको मिर्चैया नगरपालिका–५ स्थित ब्रह्मचारी दामोदरानन्द कलेजले आज शुक्रबार बिहान सचेतनामूलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
शुभ दीपावली, तिहार, छठ तथा सामाचकेवा पर्वको पावन अवसरमा आयोजना गरिएको “सांस्कृतिक सचेतना र सडक नाटक कार्यक्रम–२०८२” अन्तर्गत कलेजका विद्यार्थी तथा प्राध्यापकहरूले संस्कृति संरक्षणका सन्देशसहित विविध कार्यक्रम प्रस्तुत गरेका थिए।
बिहान ८ बजे कलेज परिसरबाट सुरु भएको सांस्कृतिक जुलुस बजार क्षेत्र हुँदै थाना चौक, कटारी चौक परिक्रमा गर्दै सल्हेश संस्था चौकमा पुगेर सम्पन्न भएको थियो।
सांस्कृतिक परम्परा जोगाउने उद्देश्यका साथ विद्यार्थीहरू आफ्ना मैथिली संस्कृति र परम्परालाई झल्काउने पहिरनमा सहभागी भएका थिए। छात्रहरूले धोती–कुर्ता र छात्रा विद्यार्थीहरूले साडी लगाएर सहभागिता जनाएका थिए।
सल्हेश संस्था चौकमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सडक नाटक र सांस्कृतिक झाँकीमार्फत युवाहरूले परम्परागत संस्कृति जोगाउन सक्ने योगदानबारे सन्देश दिएका थिए।
कार्यक्रमलाई सफल बनाउन कलेजका विद्यार्थी, प्राध्यापक, कलेज समितिका सदस्यहरू तथा मिर्चैया नगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदीप साहलगायतको सक्रिय उपस्थिति रहेको थियो।
कलेज प्रमुख संजय साहका अनुसार कार्यक्रम उत्साहपूर्वक र भव्य रूपमा सम्पन्न भएको हो।




