रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कार्तिक पूर्णिमामा कमला स्नान: ‘देव मेला’ को तयारी तीव्र, ‘भूत मेला’ नभन्न स्थानीयको आग्रह

[sharethis-inline-buttons]

प्रमोद शर्मा ,धनुष टिभी । जनकपुरधाम
भोलि लाग्ने कार्तिक पूर्णिमाको अवसरमा धनुषा र सिरहा जिल्ला जोड्ने पवित्र कमला नदी किनारमा विशाल ‘देव मेला’ को तयारी अन्तिम चरणमा पुगेको छ। हरेक वर्षझैँ यस वर्ष पनि सबैला नगरपालिका वडा नं. १२ र १३ स्थित ढोलबजा (सीता घाट) र वडा नं. ४ स्थित पटेर्वा घाट लगायतका स्थानहरूमा मेलाको रौनक सुरु भइसकेको छ।
आजदेखि नै श्रद्धालुहरू र धामीझाँक्रीहरू मेलास्थलमा भेला हुन थालेका छन् भने भोलि (कार्तिक पूर्णिमा) बिहानैदेखि पवित्र कमला स्नान गर्नेहरूको ठूलो भीड लाग्नेछ।
‘कुलदेवता’ खेल्दै घाटमा आउँदै भगताहरू
यस मेलाको मुख्य विशेषता भनेको विभिन्न जिल्लाहरूबाट आउने धामीझाँक्री र ‘भगता’ हरू हुन्। उनीहरू आ-आफ्नो ‘घरको कुलदेवता’ खेल्दै, नाच्दै र झ्याली-मृदङ्ग बजाउँदै कमला घाटमा स्नानका लागि आउने गर्दछन्। यो दृश्य मेलाको प्रमुख आकर्षण बन्ने गरेको छ।
मेलामा स्नान गर्न सर्वसाधारणहरूको पनि ठूलो घुइँचो लाग्ने गर्दछ। यस अवसरमा कमला नदी नजिकका गाउँहरूमा रातभरि विभिन्न सांस्कृतिक नाचगान र मनोरञ्जनका कार्यक्रमहरू समेत आयोजना गरिएका छन्, जसले गर्दा मेलाको चहलपहल बढेको छ।
‘भूत मेला’ नभन्नुहोस्, यो ‘देव मेला’ हो
यसैबीच, स्थानीय बासिन्दा तथा मेला व्यवस्थापनमा संलग्नहरूले यस पवित्र मेलालाई केही समाचार माध्यम र सामाजिक सञ्जालहरूले ‘भूत मेला’ को संज्ञा दिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनीहरूले यो मेला ‘भूत’ नचाउने नभई, देवता र पितृहरूको शुद्धीकरणका लागि गरिने पवित्र स्नान भएको स्पष्ट पारेका छन्।
स्थानीयहरूको आग्रह यो मेला हाम्रा देवता र पित्तरहरूको शुद्धीकरणका लागि गरिने पवित्र कमला स्नान हो। यसलाई ‘भूत मेला’ भनिदिँदा हाम्रो आस्था र परम्परामाथि चोट पुगेको छ। यो देवताहरूको मेला हो, त्यसैले यसलाई ‘देव मेला’ भनिदिनुहुन हामी सबैमा विनम्र आग्रह गर्दछौं।”
स्थानीयहरूका अनुसार, कार्तिक पूर्णिमामा कमला स्नान गर्नाले देवता र पितृहरू शुद्ध हुने जनविश्वास रहेको छ। यही आस्थाका साथ हजारौं मानिसहरू यहाँ भेला हुने भएकाले यसको धार्मिक र सांस्कृतिक महत्वलाई सम्मान गर्न सबैले ‘देव मेला’ कै रूपमा सम्बोधन गरिदिनुपर्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर