रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा सीमावासीसँग सशस्त्र प्रहरीको अन्तर्क्रिया, सीमास्तम्भ र छोटी भन्सार माग

[sharethis-inline-buttons]

धनुष टिभी । शुक्रबार, कार्तिक २८, २०८२
मुकेश कुमार ठाकुर , जनकपुरधाम।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले धनुषाका सीमावासीसँग सीमामा बढ्दै आएका समस्या तथा सुरक्षासम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार जटहीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाले “सीमावासीसँग सशस्त्र प्रहरीको कार्यक्रम” नाराका साथ भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुख, वडाध्यक्ष तथा नागरिकसँग सीमा सुरक्षाबारे अन्तर्क्रिया गरेको हो।

कार्यक्रममा सरोकारवालाहरूले हराइरहेका सीमास्तम्भ तत्काल पुनःनिर्माण गर्नुपर्ने, बन्द रहेका छोटी भन्सारहरू सञ्चालनमा ल्याउनुपर्ने र साना परिमाणमा ल्याइने दैनिक उपभोग्य सामग्रीलाई व्यापारीकरणको आधारमा नहेरी सहजीकरण गर्नुपर्ने माग राखे।

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले नेपालमा मलखाद्य अभाव भइरहेकाले सीमामा व्यावहारिक सहजीकरण गर्नुपर्ने बताउँदै, “गरिब मान्छेले घरका लागि ल्याउने सामानलाई तस्करीका रूपमा नहेर्नु पर्छ,” भन्दै भारत–नेपाल सीमामा हुने ठूला तस्करी नियन्त्रणमा जोड दिए।

धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले सीमास्थित सबै भन्सार सञ्चालनमा आए राजस्व वृद्धि हुने र तस्करी पनि नियन्त्रण हुने विश्वास व्यक्त गरे। मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले खुला सीमा र सुरक्षा चुनौतीका कारण गाँजा, बराउन सुगरदेखि अवैध हतियारसम्मको तस्करी बढेको बताउँदै, लागुऔषध नियन्त्रणमा कडाइ आवश्यक रहेको धारणा राखे।

नगराईन नगरपालिकाका प्रमुख विनय यादवले जटही क्षेत्रलाई लागुऔषधमुक्त बनाउन सशस्त्र प्रहरीसँग सहकार्य गर्ने बताए। सहभागीहरूले दुवै देशबीच सिर्जना हुने सीमा समस्या, सीमास्तम्भ हराउने, तस्करी, लागुऔषध कारोबार जस्ता विषय उठाउँदै समाधानका लागि माग गरे।

सहभागीहरूको जिज्ञासामा जवाफ दिँदै प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमले हराएका सीमास्तम्भ दुवै देशको सहमतिमा निर्माण गरिने प्रतिबद्धता जनाए। उनले मधेश प्रदेशका आठै जिल्लामा सीमावासीसँग अन्तर्क्रिया गर्ने कार्ययोजना अनुरूप सुझाव संकलन गरिँदै समस्या समाधानतर्फ अघि बढिने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाका गणपति प्रहरी उपरीक्षक निर्मल खड्काले स्वागत मन्तव्य राख्दै नेपाल–भारत सीमाक्षेत्रको समग्र अवस्था प्रस्तुत गरेका थिए।

अन्तर्क्रियामा वडाध्यक्ष संजय पाण्डे, दिलिप यादव, नायव उपरीक्षक सीताराम पौडेल, तेजराज शर्मा, सञ्चारकर्मी मुकेश ठाकुर, विपिन यादव, आयुब हुसेन, बैजनाथ साह, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर