रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

उज्यालो भविष्य अभियानको निःशुल्क ट्युशन सेवा सिरहामा सुरु, शिक्षा पहुँच विस्तारमा थप प्रभाव

[sharethis-inline-buttons]

 

मधेस प्रदेशको धनुषा जिल्लामा सक्रिय उज्यालो भविष्य अभियानले सिरहा जिल्लाको नरहा गाउँपालिका–३ खोरिया दलित बस्तीमा निःशुल्क ट्युशन कक्षा सुरु गरेको छ। शिक्षाबाट वञ्चित, दलित–सादा तथा विपन्न समुदायका बालबालिकालाई लक्षित गरी संचालन गरिएको यो कक्षा स्थानीय तहमा शिक्षा पहुँच विस्तार र सिकाइ सुदृढीकरणका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

खोरियामा सुरू गरिएको कक्षाको भव्य उद्घाटन अभियानका संरक्षक तथा जेनजी युनाइटेड मुभ्मेण्ट मधेस प्रदेशका अध्यक्ष इन्जिनियर महेश यादवले गर्नुभयो। उद्घाटन कार्यक्रममा अभियान सदस्य, स्थानीय समाजसेवी, अभिभावक तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।

६० जना बालबालिकाको सहभागिता रहेको यस कक्षामा दलित समुदायका विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय रहेको अभियानले जनाएको छ। उज्यालो भविष्य अभियान यसअघि रामपुर, किसानपुर, हंसपुर नगरपालिका, सरस्वतीपुर, गोदार, गंगापुरलगायतका क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालन भइसकेको छ। अभियानमार्फत हालसम्म पाँच सयभन्दा बढी दलित, विपन्न र सीमान्तकृत समुदायका बालबालिकाले निःशुल्क ट्युशन सेवा प्राप्त गरिसकेका छन्।

अभियान संयोजक नागेन्द्र महराका अनुसार, “यो अभियानले दुर्गम र पिछडिएका बस्तीका बालबालिकालाई शिक्षा पहुँचमा जोड्ने एउटा प्रभावकारी सेतुको काम गरिरहेको छ।”

कार्यक्रममा अभिभावकहरूले अभियानप्रति कृतज्ञता व्यक्त गर्दै, “उज्यालो भविष्य अभियान चलाउने सरहरूले हाम्रो बालबालिकाको भविष्य उज्यालो बनाइदिनुभएको छ,” भन्दै धन्यवाद प्रकट गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियर महेश यादवले, “अभियानलाई देशभर विस्तार गर्ने हाम्रो लक्ष्य छ,” भन्दै उज्यालो भविष्य अभियानलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरे।

यससँगै धनुषाधाम नगरपालिका–८ मुलाबारीको मुसहर बस्तीमा पनि ट्युशन सेवा सुरु भएको छ।
स्थानीय तहदेखि ग्रामीण बस्तीका बालबालिकासम्म शिक्षा पुर्‍याउने उद्देश्यसहित अघि बढेको उज्यालो भविष्य अभियान दिन प्रतिदिन प्रभावकारी रूपमा विस्तार हुँदै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर