धनुषाधाम । धनुषाधाम नगरपालिका वडा नं. ९ स्थित श्री माध्यमिक (प्राविधिक तथा व्यावसायिक) विद्यालय, मुलाबारी, भिमान, धारापानीको विद्यालय व्यवस्थापन समिति लामो समयदेखि निष्क्रिय रहेको आरोप लगाउँदै GEN-Z धनुषाधामले समिति बिघटन तथा तत्काल सुधारको मागसहित ज्ञापनपत्र बुझाएको छ।
GEN-Z धनुषाधामले नगर प्रमुख बालेश्वर मण्डल तथा प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार पासवानलाई ज्ञापनपत्र बुझाउँदै हालको विद्यालय व्यवस्थापन समितिले नियमित बैठक नगरेको, शिक्षक अभाव समाधान गर्न नसकेको तथा विद्यालयका लागि विनियोजित बजेट समयमै निकासा र सदुपयोग गर्न असफल भएको जनाएको छ। यसका कारण विद्यालयको पठनपाठन र समग्र शैक्षिक गतिविधि गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित शिक्षा सम्बन्धी कानुनअनुसार विद्यालयको नियमित सञ्चालन, शिक्षक व्यवस्थापन र बजेटको पारदर्शी उपयोग समितिको प्रमुख दायित्व भए पनि हालको समितिले ती दायित्व पूरा गर्न नसकेको GEN-Z धनुषाधामको ठहर छ।
ज्ञापनपत्रमार्फत हालको विद्यालय व्यवस्थापन समिति तत्काल बिघटन गर्न, विद्यालय सञ्चालन अवरुद्ध नहोस् भनी अन्तरिम समिति गठन गर्न, विद्यालयमा देखिएको शिक्षक अभाव तुरुन्त समाधान गर्न तथा विद्यालयको बजेट निकासा र खर्च विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरिएको छ।
मागहरू यथाशीघ्र कार्यान्वयन नभएमा अभिभावक, युवा (Gen-Z) तथा सरोकारवाला नागरिकहरू थप कदम चाल्न बाध्य हुने चेतावनीसमेत GEN-Z धनुषाधामले दिएको छ।




