मनिषा मण्डल ।जनकपुरधाम, पुस ११
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, मधेस प्रदेश अन्तर्गत जिल्ला शाखा धनुषाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ।
महासंघका वर्तमान अध्यक्ष सरोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले पुस्तक तथा स्टेशनरी व्यवसाय शिक्षा र ज्ञानसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै व्यवसायलाई मर्यादित, पारदर्शी र समयानुकूल बनाउनु आवश्यक रहेको धारणा राखे। उनले स्थानीय तह जिम्मेवार भई अघि बढ्नु आवश्यक रहेको भन्दै व्यवसायीहरूलाई संगठित ढंगले क्रियाशील रहन, गुणस्तरीय सामग्री आपूर्ति तथा व्यवसायिक आचरणमा ध्यान दिन आग्रह गरे।
त्यसैगरी, कार्यक्रम अध्यक्ष सरोज कुमार चौधरीले महासंघले विगतदेखि नै पुस्तक तथा स्टेशनरी व्यवसायीहरूको हकहित संरक्षण र विकासमा काम गर्दै आएको स्मरण गराउँदै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त र व्यवसायीमैत्री बनाउने विश्वास व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष प्रकाश कुमार धमसाले व्यवसायीहरूको साझा हितलाई प्राथमिकतामा राख्दै संस्था संचालन गर्ने प्रतिबद्धता जनाए। उनले व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढ्ने बताएका थिए।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य नितेश साह, जितेन्द्र महासेठ, जनकपुरधाम नगर शिक्षा समिति सदस्य, महासंघका प्रदेश तथा जिल्ला पदाधिकारीहरू, पुस्तक तथा स्टेशनरी व्यवसायी, उद्योगी तथा विभिन्न सरोकारवाला प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
धनुषामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




