धनुष टिभी,जनकपुरधाम
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ६ स्थित मालटोलमा रातिको समयमा चार वटा जंगली हात्ती पसेर आतंक मच्चाएका छन्।
हात्तीको समूह मगर टोल (कुतवाटोल) हुँदै गाउँ प्रवेश गर्दा गोपाल मिझार, प्रेमबहादुर मोक्तान र खलमान मिझारका घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस धनुषाधामको टोली प्रहरी निरीक्षक गणेश कुमार बोहराको कमाण्डमा तत्काल परिचालित भएको थियो।नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहकार्यमा हात्तीलाई गाउँबाहिर धपाई स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
स्थानीयवासीले भने सम्बन्धित वन कार्यालयका कर्मचारीहरूलाई पटक–पटक फोन गर्दा पनि घटनास्थलमा नआएको भन्दै असन्तोष व्यक्त गरेका छन्।
आपतकालीन अवस्थामा समयमै सहयोग नपाएकोप्रति दुःख व्यक्त गर्दै उनीहरूले भविष्यमा यस्तो लापरवाही नदोहोर्याउन माग गरेका छन्।
वडा अध्यक्ष ऋषि लामाले पनि वन कार्यालयबाट सहयोग नपाएकोप्रति दुःख व्यक्त गर्दै यस्ता अप्रत्याशित घटनामा सबै निकायबीच समन्वय मजबुत हुनुपर्ने बताएका छन्।
धनुषाधाममा जंगली हात्तीको आतंक, तीन घरमा क्षति
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




