धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–६ स्थित हरिपुर इलाकामा जंगली हात्ती कराइरहेको खबर प्राप्त भएपछि सुरक्षाकर्मी र सम्बन्धित निकायको संयुक्त टोलीले तत्काल सर्च अपरेशन सञ्चालन गरी बस्ती क्षेत्रलाई सुरक्षित बनाएको छ।
माघ १ गते साँझ ७ बजेतिर जंगली हात्ती बस्ती नजिक देखिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषाधामबाट सशस्त्र प्रहरी निरीक्षक गणेश कुमार बोहराको कमाण्डमा ७ जनाको टोली परिचालन गरिएको थियो। त्यसैगरी नेपाली सेना नं. ३ राजदल गणबाट सहायक सेनानी रामशरण भण्डारीको नेतृत्वमा ११ जना, इलाका प्रहरी कार्यालय धारापानीबाट प्रहरी नायब निरीक्षक दिनेश कुमार महतोको कमाण्डमा ४ जना तथा सब–डिभिजन वन कार्यालय पुष्पवलपुरबाट सशस्त्र वनरक्षक जमदार असनी चौधरीको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुगेको थियो।
रेडियो धनुष ९९.७ मेगाहर्जका स्टेशन प्रमुख पत्रकार मुकेश कुमार ठाकुर र स्थानीय बासिन्दाको समेत सहयोगमा संयुक्त टोलीले सर्च कार्य गर्दै जंगली हात्तीलाई बस्ती क्षेत्र प्रवेश गर्न नदिई सुरक्षित रूपमा नियन्त्रणमा राख्न सफल भएको हो।
समयमै गरिएको समन्वित प्रयासका कारण हरिपुर क्षेत्रका बासिन्दाले ठूलो क्षति हुनबाट जोगिन पाएको स्थानीयले बताएका छन्।
सुरक्षाकर्मीले आगामी दिनमा पनि सतर्कता अपनाउन र हात्ती देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
धनुषाधाम–६ हरिपुर क्षेत्रमा जंगली हात्तीको त्रास, सुरक्षाकर्मी स्थानीयको संयुक्त प्रयासमा बस्ती सुरक्षित
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




