रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा एक महिने ऐतिहासिक मकर मेला सुरु, श्रद्धालुको भीड

[sharethis-inline-buttons]

मुकेश कुमार ठाकुर
धनुष टिभी, जनकपुरधाम। धनुषा जिल्लाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने ऐतिहासिक तथा धार्मिक मकर मेला आजदेखि सुरु भएको छ। जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित पौराणिक महत्व बोकेको धनुषाधाममा यो मेला हरेक वर्ष माघ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्म लाग्ने गर्दछ।
यस क्षेत्रकै सबैभन्दा प्रख्यात मानिने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु भक्तजन मेला भर्न आउने गर्दछन्। त्रेता युगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्वरका क्रममा श्रीरामले भाँचेको पिनाक धनुषका टुक्रामध्ये मध्य भाग धनुषाधाममा झरेको किंवदन्ती रहिआएको छ।
धनुषाधाम मन्दिरका महन्थ भरत दासका अनुसार धनुष खसेको जनकपुरधामको पोखरी ‘धनुष सागर’ नामले चिनिन्छ भने मध्य भाग खसेको स्थानमै हाल धनुषाधाम मन्दिर अवस्थित छ। त्यहाँ रहेको कालो शिलामाथि करिब साढे पाँच सय वर्ष पुरानो पीपलको रुख रहेको विश्वास गरिन्छ। उक्त पीपलको बोटमुनि नागको बास रहेको र अमावस्या तिथिको मध्यरातमा मणिसहितको नाग देखिने तथा मन्दिर हरियो रङले रङ्गिने जनविश्वास छ।
विष्णु पुराणअनुसार त्रिपुरासुर सङ्ग्रामपछि दधिचि मुनिको हाडबाट बनेको धनुष परशुरामलाई दिइएको थियो, जसलाई पछि राजा जनकले संरक्षण गरेका थिए। श्रीरामले उक्त धनुषमा वाण चलाउँदा तीन टुक्रा भएको र एक आकाश, अर्को पाताल तथा तेस्रो धनुषाधाम क्षेत्रमा झरेको धार्मिक कथा प्रचलित छ।
धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुष बाबाको मन्दिर निर्माण भएपछि माघ महिनामा मकर मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ। मेलाका क्रममा भक्तजनहरूले धनुषको प्रतीकमा पुष्प, जल, बैगन भाड अर्पण गर्दै पूजाआर्चना गर्ने गर्दछन्। धार्मिक विश्वासअनुसार पाँच पटक मकर स्नान गरी धनुष भगवानको दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।
यस वर्ष मेला व्यवस्थापनका लागि विनोद यादवको अध्यक्षतामा ५२ सदस्यीय समिति गठन गरिएको छ भने मन्दिर व्यवस्थापनको जिम्मा धनुषाधाम विकास क्षेत्र संस्थाले सम्हालेको छ। मेलामा तेज पत्ता (पत्रक) तथा फलामका घरेलु तथा कृषि उपकरण मुख्य आकर्षणका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर