धनुषा। मिथिला विहारी नगरपालिका–१ स्थित जगरुप साह–रामपुकार साह माध्यमिक विद्यालय (स्थापना २०१४ साल) मा पछिल्लो समय शैक्षिक गुणस्तर खस्किएको भन्दै केही समयअघि विद्यार्थीहरूले आन्दोलनसमेत गरेका थिए। त्यसयता विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारका लागि विभिन्न पहलहरू सुरु भएका छन्।
यसैक्रममा रेडियो धनुष ९९.७ मेगाहर्ज ले विद्यालय सुधार अभियानअन्तर्गत कक्षा व्यवस्थापनमा सानो प्रयास थालेको छ। रेडियो धनुषका स्टेशन प्रमुख तथा पत्रकार मुकेश कुमार ठाकुर ले कक्षा १० को कक्षाकोठाको दयनीय अवस्था अवलोकन गरेपछि विद्यार्थीहरूलाई एक दिनको खाजा खर्च स्वेच्छिक रूपमा कक्षा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए। विद्यार्थीहरूले उक्त अभियानमा स्वेच्छाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अभियानलाई थप सहयोग पुर्याउन विद्यालयका प्रधानाध्यापक लालबाबु यादव र पत्रकार मुकेश कुमार ठाकुर ले व्यक्तिगत तर्फबाट जनही एक हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।
सो अवसरमा पत्रकार ठाकुरले विद्यार्थीहरूलाई पढाइमा मात्र ध्यान केन्द्रित गर्न आग्रह गर्दै विद्यालयमा हुने हरेक गतिविधिबारे आफ्ना अभिभावकलाई नियमित रूपमा जानकारी गराउन अनुरोध गरेका थिए। उनले विद्यालयको समग्र सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताए।
प्रधानाध्यापक लालबाबु यादवले कक्षा १० बाहेक विद्यालयका अन्य सबै कक्षाकोठाको व्यवस्थापन विद्यालयकै तर्फबाट गरिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई गुणस्तरीय र व्यवस्थित अध्ययन वातावरण उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए।
विद्यालयमा शैक्षिक गुणस्तर सुधार, कक्षाकोठा व्यवस्थापन तथा अध्ययनमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानप्रति विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
विद्यालय सुधारका लागि रेडियो धनुषको पहल, कक्षा व्यवस्थापन अभियान सुरु
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






