धनुष टिभी ,धनुषा ।धनुषाको धनुषाधामस्थित संरक्षित वन परिषद्को आयोजनामा सम्पन्न कार्यक्रममा संघीय कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले धनुषाधामको संरक्षित वनलाई चिडियाखानाका रूपमा विकास गर्ने विषयमा आवश्यक अध्ययन र सम्भाव्यता विश्लेषणपछि मात्र प्रक्रिया अघि बढाइने बताएकी छन्। उनले वर्तमान सरकारको मुख्य उद्देश्य जनताको विकास, समृद्धि र समस्या समाधान रहेको उल्लेख गर्दै कुनै पनि योजना अध्ययन, कानुनी प्रक्रिया र आवश्यक तयारी पूरा गरेर मात्र कार्यान्वयन गरिने स्पष्ट पारिन्।
कार्यक्रम संरक्षित वन परिषद्का अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंह, सब-डिभिजन वन कार्यालय धनुषाधामका प्रमुख शंकर नारायण झा, वृक्षमानव सुरेश प्रसाद शर्मा, परिषद्का सदस्यहरू, धनुषाधाम नगरपालिका–३ का वडा अध्यक्ष जयनारायण यादव, धनुषाधाम उद्योग वाणिज्य संघका संयोजक तथा पत्रकार मुकेश कुमार ठाकुर,पत्रकार , नागेन्द्र महरा,प्रेम चौहान, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा सब-डिभिजन वन कार्यालय धनुषाधामका प्रमुख शंकर नारायण झाले ३६५ हेक्टर क्षेत्रफलमा फैलिएको संरक्षित वनको संरक्षण, जैविक विविधता, पर्यटकीय सम्भावना तथा हालसम्म सञ्चालन भएका गतिविधिबारे जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए।
विशिष्ट अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीले प्रदेश सरकारको सीमित बजेटले मात्र मधेश प्रदेशको वन क्षेत्रको समग्र विकास सम्भव नरहेको बताउँदै संघ, प्रदेशबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाका सभापति लक्ष्मेश्वर यादव, धनुषा क्षेत्र नं. २ का सांसद रामविनोद यादव, क्षेत्र नं. ४ का सांसद राजकिशोर महतो, क्षेत्र नं. १ का उमेदवार किशोरी साह कमल,इन्जिनियर अम्बिका साह, रामहृदय यादव, अजय साह, राजकुमार ठाकुर, अजय यादव, अनिल यादव, मुकेश यादव, शत्रुधन साह, प्रशान्त यादव, चन्द्र नारायण यादव, चुक बहादुर सिजाली, विनोद यादव, योगकुमार यादव, सिपेन्द्र साह, सिकेन्द्र कापर, रमेश दास, सूर्यनाथ महतो, योग नारायण महतो, धर्मेन्द्र साह लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम अघि संघीय कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीसहितको टोलीले प्रसिद्ध धनुष मन्दिरमा पुगेर दर्शन तथा पूजाआजा गरेका थिए। त्यस अवसरमा जनप्रतिनिधि, वन कार्यालयका अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाहरू पनि सहभागी रहेका थिए।
कार्यक्रममा सहभागीहरूले धनुषाधामको संरक्षित वनलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
धनुषाधामको संरक्षित वनलाई चिडियाखाना बनाउने विषयमा अध्ययन गरिने : मन्त्री गीता चौधरी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






