काठमाडौं । नेपालले एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ मा हुने एसिया कपका लागि आफ्नो स्थान पक्का गरेको छ।
मलेसियाको वायुमास ओभलमा शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो। यूएईको अन्तिम विकेट झरेसँगै नेपाली खेलाडी मैदानमा दौडिँदै पुगेपछि वायुमास ओभल नेपाली टोलीको विजय उत्सवमा परिणत भएको थियो।
ड्रेसिङ रुममा रहेका प्रशिक्षक, अफिसियल तथा बेन्चका खेलाडीसमेत मैदानमा पुगेर खेलाडीलाई बधाई दिएका थिए। खेलाडीहरूले राष्ट्रिय झण्डा ओढ्दै र एकअर्कालाई अँगालो हाल्दै उपाधिको खुसी मनाए।
यससँगै नेपालले एसिया कपमा पुनरागमन गर्ने अवसरसमेत सुरक्षित गरेको छ। प्रिमियर कपको पहिलो संस्करणमा पनि नेपालले फाइनलमा यूएईलाई नै हराएर उपाधि जितेको थियो। यसपटक पनि यूएईलाई नै पराजित गर्दै नेपालले एसोसियट क्रिकेटमा आफ्नो प्रभाव कायम राखेको हो।
फाइनलसम्मको यात्रामा यूएई अपराजित रहँदै आएको थियो। नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएपछि केही दबाबमा परेको थियो। तर त्यसपछि नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधिसम्मको यात्रा तय गर्यो।
कप्तान सन्दीप लामिछानेले हङकङसँगको खेलबाहेक प्रतियोगिताभर नेपाली टोलीले राम्रो प्रदर्शन गरेको बताए। उनका अनुसार खेलाडीहरूको सामूहिक प्रदर्शन र समर्थकको निरन्तर साथका कारण नेपालले अर्को महत्वपूर्ण सफलता हात पार्न सफल भएको हो।
उपाधिसँगै नेपालले एसिया कपको टिकटसमेत काटेको छ। यो सफलता नेपाली क्रिकेटका लागि आगामी अन्तर्राष्ट्रिय यात्राको महत्वपूर्ण आधार बनेको छ।

सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । उनले ट्रफी सहित आफ्नो अवार्ड नेपालका बाढीपीडितलाई समर्पित गरे ।
‘म नेपालको बाढीबाट ज्यान गुमाउने सबैजनालाई सम्झिरहेको छु, भावुक भइरहेको छु । सबैप्रति हार्दिक श्रद्धाञ्जली। यो जित सबै तपाईंहरूलाई समर्पित छ’ उनले भने ।
उनले मलेसियामा उपस्थित नेपाली समर्थकप्रति पनि विशेष धन्यवाद व्यक्त गरे।
फाइनलको कथा : आसिफको शतक, गुल्शनको अर्धशतक
टस जितेर नेपालले पहिले ब्याटिङ रोज्यो र त्यसको सुरुआत पनि योजनाअनुसार भयो । ओपनर आसिफ शेख र अर्जुन कुमालले संयमित तर सकारात्मक साझेदारी गर्दै बलियो जग बसाले ।
अर्जुन ४३ रनमा रनआउट भएपछि आसिफले जिम्मेवारी सम्हाल्दै शानदार शतक पूरा गरे । ओडीआई करियरको दोस्रो शतक बनाएर आसिफ आउट भएपछि गुल्शन झाले आक्रामक अर्धशतक बनाए ।
रोहित पौडेलले ४० रन तथा अन्त्यमा बसिर अहमदले ४ बलमा अविजित १४ रनको क्यामिओ इनिङ खेलेएपछि नेपालले ३०० रनको आँकडा पार गर्दै ३१३ रनको बलियो योगफल खडा गरेको थियो ।

बलिङमा नेपालले सुरुवाती सफलता पाउन केही कुर्नुपरेको थियो । यूएईका ओपनरमध्ये एक तनिश सुरीले लगातार आक्रामक शट खेलिरहेका थिए । नेपालले अर्का ओपनर अदीब उसमानीको विकेट प्राप्त गर्दा यूएईले पाँचौं ओभरमा ४५ रन बनाएको थियो ।
त्यसपछि आएका अक्षदीप नाथ सन्दीपको शर्ट बलमा फसे भने तनिश करण केसीको बलमा डिप स्क्वायर लेगमा छक्काको प्रयासमा क्याचआउट भएपछि यूएई ५६-३ को अवस्थामा पुगेको थियो । त्यहाँबाट राहुल चोपरा र कप्तान हरप्रित भाटियाले ४७ रनको साझेदारी बनाए ।
रोहित पौडेलको बलमा हरप्रित कभरमा क्याचआउट हुँदा यूएईको स्कोर १०३-४ भएको थियो । त्यसपछि आयान अफजल खान गुल्शन झाको बलमा ठूलो शटको प्रयासमा लङअनमा क्याच आउट हुँदा यूएई २३औं ओभरमा ११९-५ को स्थितिमा थियो । त्यसपछि भने खेल रोचक बन्दै गयो ।
शोहेब खानले राहुल चोपरासँग मिलेर राम्रो साझेदारी बनाएपछि यूएई संयमित बनेर लक्ष्यतर्फ अघि बढेको थियो । दुवैले अर्धशतक बनाएर खेलिरहेका थिए र साझेदारी ८३ रनको भइसकेको थियो ।
३९औं ओभरमा शोहेब ललितलाई ठूलो शट प्रहार गर्ने क्रममा मिसटाइम हुँदा ५२ रनमा क्याचआउट भए । त्यसपछि आएका खुजाइमा बिन तनभिरले पनि केहीबेर राम्रो शटहरू खेलिरहेका थिए र राहुललाई साथ दिइरहेका थिए ।
यूएई ४५ ओभरमा २४८-६ को अवस्थामा थियो जब ३० बलमा ५७ रन आवश्यक थियो । खुजाइमा दीपेन्द्रको बलमा बोल्ड भए भने त्यसपछि इबरार अहमद र हैदर अली पनि करण केसीको बलमा क्याचआउट भएपछि नेपालले खेल जित्ने पक्का देखिएको थियो ।
त्यसबेला राहुल ह्यामस्ट्रिङको समस्या झेलिरहेका थिए । एक समय उनले सन्दीपलाई शानदार छक्का प्रहार गरेपछि पिचमै लडेका थिए । उनलाई अर्कोतर्फबाट पर्याप्त साथ भने पुगेन । उनी १०० रन बनाएर अविजित रहेपनि नेपालले खेल जित्यो ।

सेमिफाइनलको पुनरागमन
नेपालले समूह ‘ए’ मा ४ मध्ये ३ खेल जितेर समूहविजेता बन्दै सेमिफाइनल खेलेको थियो । समूह चरणको पहिलो खेलमा बहराइनलाई केवल ८७ रनमा अलआउट गर्दै नेपालले उक्त खेल ७ विकेटले जितेको थियो ।
त्यसपछि नेपालले घरेलु टोली मलेसियालाई १०३ रनमा अलआउट गर्दै उक्त खेल ६ विकेटले जित्यो । साउदी अरेबिया विरुद्ध नेपालले १९१ रनको लक्ष्य ५ विकेटको क्षतिमा पूरा गर्यो ।
समूह चरणको अन्तिम खेलमा हङकङ विरुद्ध २६२ रन पछ्याउँदा नेपाल १६ रनले पराजित भएको थियो । उक्त हारका बाबजुद नेपाल समूहविजेताकै रूपमा सेमिफाइनल खेल्दै थियो ।
ओमानसँगको सेमिफाइनलमा पहिलोपटक सुरुवाती ब्याटिङको मौका पाएको नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेको थिएन ।
१४७ रनको योगफल बनाएको नेपालले अब खेल जित्ने आधार आफ्नो सबैभन्दा बलियो पक्ष रहेको बलिङ थियो । त्यही बलिङ, त्यसमा पनि स्पीन बलरहरूले नेपाललाई शानदार जित दिलाए ।
नेपालले ओमानलाई ६० रनमै अलआउट गरेर फाइनलमा स्थान बनाएको थियो । त्यसबेला कप्तान सन्दीपसँगै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल मिलेर घातक बलिङ गर्दै नेपाललाई जित दिलाए ।
सेमिफाइनलको त्यो पुनरागमनले नेपाललाई एसिया कप खेल्ने बाटोमा जीवितै राख्यो । उपाधि जितेपछि सन्दीपले लेखिएको कुरा भएरै छाड्ने प्रतिक्रिया दिएका थिए ।
‘हामीले जस्तो खेल्यौं मलाई लाग्छ यी कुराहरू डेस्टिनीमै थियो, नतिजा पनि त्यही अनुसार नै आयो’ उपाधि जितेपछि सन्दीपले भनेका थिए ।

दोस्रोपटक एसिया कप
नेपालका लागि प्रिमियर कप केवल एउटा प्रतियोगिता होइन, एसिया कप पुग्ने भरपर्दो बाटो बनेको छ । सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करण जित्दै नेपाल एसिया कपमा पुगेको थियो। त्यसपछि भारत र पाकिस्तानविरुद्ध खेलेको ऐतिहासिक अनुभव नेपाली क्रिकेटको महत्वपूर्ण अध्याय बन्यो ।
अब दोस्रो पटक प्रिमियर कप जितेसँगै नेपालले फेरि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता एसियाली शक्तिशाली टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।
नेपालले सन् २०२३ को ओडीआई एसिया कपमा भारत र पाकिस्तानसँग समूह चरणमै प्रतिस्पर्धा गरेको थियो । दुवै खेलमा पराजय भोगेको भएपनि नेपाली क्रिकेटको स्तरबारे त्यसबेला एसिया मात्र नभएर विश्वका धेरै दर्शकले देखेका थिए ।
अब सन् २०२७ को जुनमा बंगलादेशमा हुने एसिया कपमा नेपाल फेरि एकपटक पाइला टेक्दै छ । प्रतियोगिताको अन्य विवरण भने टुङ्गो लाग्न बाँकी छ ।






