रामनारायण ठाकुर ,मिर्चैया
सिरहाको प्रमुख व्यापारिक केन्द्र मिर्चैयास्थित कटारी चोकमा अटो तथा सिटी सफारीको अव्यवस्थित पार्किङ र सञ्चालनका कारण स्थानीय बासिन्दा तथा व्यापारीहरू समस्यामा परेको गुनासो गरेका छन्। साँघुरो सडकमा जथाभावी सवारीसाधन रोक्दा बजार क्षेत्रमा आवागमन प्रभावित हुनुका साथै व्यापार व्यवसायसमेत घट्दै गएको स्थानीय व्यापारीहरूको भनाइ छ।
स्थानीय व्यापारीहरूका अनुसार कटारी चोक क्षेत्रमा पार्किङ निषेधित तथा सडक साँघुरो हुँदाहुँदै पनि अटो र सिटी सफारी चालकहरूले जथाभावी सवारीसाधन रोक्ने गरेका छन्। यसका कारण पैदलयात्री, अन्य सवारीसाधन तथा बजारमा आउने ग्राहकले समेत सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ।
एक स्थानीय पसलेले भने, “हाम्रो पसलमा बाहिरबाट ग्राहक आएनन् भने व्यापार कसरी चल्छ? अटो तथा सिटी सफारीले ग्राहकलाई बजारमा बस्नसमेत नदिने र पसलमा आएका ग्राहकलाई तानातान गर्ने अवस्था छ।”
होटल तथा लज व्यवसायीहरू पनि यसबाट प्रभावित भएको बताउँछन्। उनीहरूका अनुसार बाहिरबाट आएका यात्रु तथा ग्राहक मिर्चैयामा केही समय बस्न नसक्ने अवस्था बनेमा होटल तथा लज व्यवसायसमेत प्रभावित हुन्छ।
स्थानीय व्यवसायीहरूका अनुसार अटो तथा सिटी सफारीको अव्यवस्थित सञ्चालन र पार्किङका कारण मिर्चैयाको व्यापार व्यवसाय दिनप्रतिदिन कमजोर हुँदै गएको छ। विशेषगरी दसैँजस्ता ठूला चाडपर्वमा समेत अपेक्षाअनुसार व्यापार हुन नसकेको उनीहरूको भनाइ छ। आगामी दीपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै बजार व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने उनीहरूको माग छ।
व्यापारीहरूले मिर्चैयाबाट बाहिर जाने अटो तथा सिटी सफारीको सञ्चालन समयसमेत व्यवस्थित गर्न माग गरेका छन्। उनीहरूको सुझावअनुसार कम्तीमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बजारबाट बाहिर जाने सवारी सञ्चालनमा नियमन गरिए बजार व्यवस्थापनमा सहजता आउने उनीहरूको भनाइ छ।
यस विषयमा ट्राफिक कार्यालय लहान, सिरहासँग जानकारी लिँदा सिटी सफारी नगरपालिका क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाउने र यसको व्यवस्थापन सम्बन्धित नगरपालिकाले गर्ने बताइएको छ। त्यसैगरी अटोको सञ्चालन क्षेत्र करिब २० किलोमिटर रहेको ट्राफिक कार्यालयको भनाइ छ।
तर मिर्चैयाबाट उदयपुरको कटारी करिब २६ किलोमिटर तथा सिन्धुलीको दुधौलीतर्फ करिब ३० किलोमिटर दूरीमा पर्ने भएकाले अटो सञ्चालनको दूरीसम्बन्धी नियम कार्यान्वयनमा प्रश्न उठेको स्थानीयको भनाइ छ।
मिर्चैया मधेस प्रदेशमा पर्छ भने उदयपुरको कटारी कोशी प्रदेश र सिन्धुलीको दुधौली बागमती प्रदेशमा पर्छ। त्यसैले अन्तरजिल्ला तथा अन्तरप्रदेशमा अटो सञ्चालनसम्बन्धी नियमको प्रभावकारी अनुगमन आवश्यक रहेको स्थानीयहरू बताउँछन्।
यसैबीच, केही अटो चालकसँग आवश्यक लाइसेन्स तथा कागजात नभएको र उनीहरूलाई उदयपुरको बेलसोत क्षेत्रमा ट्राफिक प्रहरीसँग मिलेमतो गरी सञ्चालन गराउने गरिएको दाबीसमेत स्रोतले गरेको छ। स्रोतका अनुसार त्यसका लागि अटो चालकहरूबाट मासिक रूपमा रकम उठाउने गरिएको आरोप छ।
पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको गुनासो
स्थानीय व्यापारी तथा बासिन्दाले अव्यवस्थित पार्किङ र अटो तथा सिटी सफारीको मनपरी सञ्चालनबारे पटक–पटक सम्बन्धित निकाय तथा ट्राफिक प्रहरीलाई जानकारी गराउँदै आएको बताएका छन्। तर प्रभावकारी रूपमा समस्या समाधान नभएको उनीहरूको गुनासो छ।
मुख्य चोकमै हुने अव्यवस्थित पार्किङ नियन्त्रण गर्न नसक्दा चालकहरूको मनोबल बढेको स्थानीयको आरोप छ। उनीहरूले साँघुरो सडकमा जथाभावी पार्किङ तत्काल रोक्न, बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन तथा नियमविपरीत सञ्चालन हुने सवारीसाधनमाथि कारबाही गर्न माग गरेका छन्।
स्थानीय व्यापारीहरूको मुख्य माग कटारी चोकको सडकलाई व्यवस्थित बनाउने, अटो तथा सिटी सफारीको रुट र समय निर्धारण गर्ने, जथाभावी पार्किङ रोक्ने र बाहिरबाट आउने ग्राहक तथा यात्रुलाई सहज रूपमा बजारमा आवतजावत गर्ने वातावरण सिर्जना गर्ने रहेको छ।






