साउन १६। मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङ शनिबार जनकपुरधाम पुगेका छन्। उनले आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद सुरु गर्दै समस्या समाधानका लागि वार्तालाई प्राथमिकता दिएका छन्।
गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवकको मृत्यु भएपछि मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएको थियो। त्यसको प्रभाव सिरहासम्म पुगेको थियो, जहाँ आन्दोलनका क्रममा उत्पन्न झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर थप एक युवकको मृत्यु भएको थियो।
बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले प्रभावित जिल्लाको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र आन्दोलनकारी पक्षसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। सरकारको जोड संवादमार्फत तनाव अन्त्य गर्दै सामाजिक सद्भाव पुनःस्थापित गर्न रहेको उनको भनाइ छ।
सरकार र आन्दोलनकारीबीच भएका वार्तापछि केही जिल्लामा वातावरण क्रमशः सामान्य बन्दै गएको छ। त्यसैअनुसार केही स्थानबाट कर्फ्यु हटाइएको भए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा भने अझै कायम राखिएको छ।
सरकारले सबै पक्षलाई संयमता अपनाउन, अफवाहबाट टाढा रहन र वार्ता तथा आपसी समझदारीमार्फत समस्या समाधानमा सहयोग गर्न आग्रह गरेको छ।






