१ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम अपचलनको आरोपमा पूर्वमन्त्री, सचिव र सहसचिव प्रहरी नियन्त्रणमा
धनुष टिभी ,काठमाडौं । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र बनाउने क्रममा सरकारले मलेसिया रोजगारी ठगी तथा संगठित अपराधसँग जोडिएको प्रकरणमा ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
सीआईबीले २०८३ मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ रहेका छन्।
सीआईबीका अनुसार मलेसिया रोजगारीसँग सम्बन्धित ठगीबाट गैरकानुनी रूपमा संकलन गरिएको अमेरिकी डलर ८ करोड ३७ लाखभन्दा बढी र बेलायती पाउन्ड ३ करोड ७१ लाखभन्दा बढी गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँभन्दा बढी रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको आरोप छ।
नेपाल र मलेसिया सरकारबीच भएको समझदारी (MoU) तथा कानुनी प्रक्रियाविपरीत विदेशी मुद्रा अपचलन गराइएको र श्रमिकमाथि भएको भनिएको संगठित ठगीमा जिम्मेवार पदाधिकारीहरूले कानुनी उपचार नगरेको सीआईबीको आरोप छ।
यस घटनाले वैदेशिक रोजगारीका नाममा श्रमिकमाथि हुने ठगी, सरकारी निर्णय प्रक्रियामा हुने अनियमितता र जिम्मेवार पदमा बसेकाहरूको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
सुशासनको परीक्षा अब नारामा होइन, कारबाहीमा देखिन थालेको छ। शक्तिशाली पदमा बसेका व्यक्ति पनि कानुनभन्दा माथि छैनन् भन्ने सन्देश यस अनुसन्धानले दिएको छ। तर पक्राउ परेका व्यक्तिहरूमाथिका आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी छन् र उनीहरूलाई दोषी ठहर गर्ने अन्तिम अधिकार अदालतको हुनेछ।
स्रोत : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको प्रेस विज्ञप्ति।







