रौतहट, साउन ६ – रौतहटको गरुडा नगरपालिका–५ स्थित झाँझ खोला नजिकै एक ब्रेजा कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नेपाली नम्बर प्लेट रहेको गाडी न.ग ३ च ६७९६० खेतमा फेला पारेको हो, जहाँ १३३ किलो गाँजा बरामद गरिएको छ।
डिएसपी राजन कार्कीका अनुसार, चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको उक्त गाडीलाई प्रहरीले रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी भगाएर झाँझ खोला नजिकको करिब २० फिट गहिरो खेतमा गाडी छाडेर उखुबारी हुँदै भागेका थिए। प्रहरी टोलीले क्रेनको सहायताले गाडीलाई माथि ल्याएर खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएका गाँजाका पोका फेला पारेका हुन्।
डिएसपी कार्कीले घटनास्थल वरपर खोजतलास गर्दा पनि चालक फेला नपरेको जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट लागुऔषध तस्करीमा संलग्न यचनबलष्शभम गिरोहको संलग्नता हुन सक्ने आशंका गरिएको छ।
बरामद गरिएको कार र गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाले वास्तविक कारोबारीको पहिचान र नियन्त्रणका लागि अनुसन्धानलाई तीव्र बनाएको छ।




