धनुषा जिल्लाको कमला नगरपालिका वडा नं.–५ का वडाध्यक्ष शिबा पासमान नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
प्रदेशसभा सदस्य लखन दासको पहलमा तथा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव तथा संघीय सांसद रघुवीर महासेठको उपस्थितिमा पासमानलाई टिका र गम्छा लगाएर औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको हो।
सोही अवसरमा स्थानीय नेता अजय कुमार गोइतले पनि नेकपा एमालेमा प्रवेश गरेका छन्।
शिबा पासमान दुईपटक वडाध्यक्षमा निर्वाचित भइसकेका छन् भने एकपटक पूर्व गाविस अध्यक्षसमेत भइसकेका अनुभवी जनप्रतिनिधि हुन्। उनी कमला नगरपालिकामा दलित समुदायका हक, अधिकार तथा प्रतिनिधित्वका लागि निरन्तर आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासेठले पासमानजस्ता जनप्रतिनिधिको आगमनले नेकपा एमाले झन बलियो हुने विश्वास व्यक्त गरे। एमालेले स्थानीय तहमा संगठन विस्तार तथा आगामी निर्वाचनको तयारी तीव्र बनाएको छ।




