नागेन्द्र महारा,धनुषा —साउन २३
धनुषा जिल्ला धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। करिब ५५ वर्षीय शिवजी मण्डलको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहले जानकारी दिएका छन्।
प्रहरीका अनुसार शिवजी मण्डल आफ्नै भाइ हरिनारायण मण्डलको धान खेतमा काम गर्न गएका थिए। खेतको छेउमै रहेको सौखिया साहको खेतमा जिआइको नाङ्गो तारले घेराबारा गरिएको थियो। त्यही घेराबाराको नाङ्गो तारमा खुट्टा छोएपछि करेन्ट लागेर उनी घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया




