मुकेशकुमार ठाकुर,जनकपुर — धनुषाको कमला नगरपालिका–८ सोनापाडाका अन्दाजी २२ वर्षीय सुभाष कुमार यादव प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएका छन्।
बिहीबार राति चोरीको आरोपमा इलाका प्रहरी कार्यालय यदुकुहाले पक्राउ गरेका यादवलाई शुक्रबार साँझ हिरासतको कोठामै आफ्नै कपडा प्रयोग गरी झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार प्रहरीको निगरानीमा रहेका यादवलाई समयमै देखेर बाहिर निकालिएको र तत्काल जनकपुरस्थित रामजानकी अस्पतालमा पुर्याइएको हो। “हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ र स्वास्थ्य अवस्था स्थिर छ,” रेग्मीले जानकारी दिए।
ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको टोलीले घटनापछि तत्काल उद्धार गरी अस्पताल पुर्याएको र उपचारपछि अवस्था सुधार आएको बताइएको छ।




