जनकपुरधाम भाद्र ७ गते । नेपाल जेसीजको ५० औं वार्षिकोत्सवको अवसरमा जनकपुर जेसीजको आतिथ्यतामा हुन गइरहेको ५२ औं राष्ट्रिय महाअधिवेशनलाई लक्षित गर्दै जनकपुरधाममा दर्शन अनावरण कार्यक्रम० सम्पन्न भएको छ। शुक्रबार जनकपुर जेसीजको आयोजनामा ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमको विशेष समारोहबीच ५२ औं राष्ट्रिय महाअधिवेशनको लोगो अनावरण गरिएको छ। लोगो अनावरणसँगै महाअधिवेशनको तयारीलाई विधिवत् सुरुवात गरिएको जनकपुर जेसीजले जानकारी दिएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले नेपाल जेसीजको सामाजिक र संगठनात्मक योगदानको प्रशंसा गर्दै यसलाई केवल शहरी क्षेत्रमा मात्र नभई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले ५२ औं राष्ट्रिय महाअधिवेशनको सफलताको शुभकामना दिदै जेसीजको कार्यक्रमहरूले युवालाई नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा अग्रसर बनाउन ठूलो भूमिका खेलेको बताए । अन्य वक्ताहरूले ५२ औं राष्ट्रिय महाअधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सबैलाई सक्रिय सहयोग गर्न आग्रह गरेका थिए। उनीहरूले अधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल जेसीजको गरिमा अझै उचाल्ने अपेक्षा व्यक्त गर्दै महाअधिवेशनको सम्पूर्ण सफलता र उज्ज्वल भविष्यमाथि शुभकामना व्यक्त गरे। कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो, तथा ५२ औं राष्ट्रिय अधिवेशनका निर्देशक सुधिर पजियार विशिष्ट अतिथि रहेका थिए। त्यस्तै, जनकपुर जेसीजका पूर्व अध्यक्षहरू, वर्ष २०२५ का पदाधिकारीहरू, सदस्यहरू, पत्रकार, सरोकारवाला र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी रजनीश साहले गरेको थियो भने कार्यक्रम संचालन ५२ औं राष्ट्रिय महाअधिवेशनका ूउप(सम्मेलन निर्देशकू तथा बर्ष २०२१ का शाखा अध्यक्ष जेसी मनोज कुमार साह मनोज साहले गरेको थियो। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्दै ५२ औं राष्ट्रिय महाअधिवेशनको निर्देशक सुधिर पजियारले यस अनावरण समारोहले ५२ औं राष्ट्रिय महाअधिवेशनलाई औपचारिक सुरुवात मात्र नभई ऐतिहासिक उपलब्धिको दिशामा अघि बढाएको बताए । जनकपुर जेसीजका जेसी अध्यक्ष मुकेश कुमार साहले यस कार्यक्रममा सहभागिता जनाइएका सबैलाई धन्यवाद ज्ञापन गर्दै ५२ औं राष्ट्रिय महाअधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सबैको साथ–सहयोग आवश्यक रहेको बताएका छन ।





