रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आज चौठचन्द्र र तीज पर्व मनाइँदै

[sharethis-inline-buttons]

भदौ १० जनकपुरधाम ।मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व र तीज पर्व पनि एकैदिन मनाइने भएको छ । मिथिलाञ्चलको प्रसिद्ध पर्व चौरचन पर्व र तीज पर्व पनि यसवर्ष एकै दिन पर्दा मंगलबार धुमधामसाथ मनाइँदैछ । हरेक वर्ष भदौँ शुक्लपक्ष चतुर्थीका दिन चौरचन पर्व मनाइने गरिन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ ।यस पर्वमा खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।

त्यस्तै हिन्दू नारीहरूको चाड तीज सोमबारदेखि दर खाएर औपचारिक रूपमा शुरु भएको छ । सो दिन चेलीबेटीलाई माइतीले बोलाई मिठा–मसिनो परिकार खुवाउने परम्परा छ । खिर,ढकनी, गुँदपाकजस्ता पौष्टिक परिकार दरमा प्रमुख रूपमा समावेश हुन्छन् । दर खाएको भोलिपल्ट महिलाहरूले निराहार व्रत बसी भगवान् शिवको पूजा गर्ने चलन छ । मंगलबार तीजको मुख्य दिन, बुधबार गणेश चौथी र बिहीबार सप्तऋषि पूजापछि चारदिने पर्वको समापन हुनेछ । पार्वतीले शिवलाई पति पाउन व्रत बसेको धार्मिक विश्वासले विवाहित महिलाहरू पतिको दीर्घायूको कामना गर्दै, अविवाहित महिलाहरू सुयोग्य वर पाउने अपेक्षासहित तीज मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर