काठमाडौं। प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुर ले दाइजो प्रथा विरुद्ध कडा सन्देश दिँदै सामाजिक सञ्जालमार्फत दाइजोमुक्त विवाहको अभ्यास गर्न आग्रह गर्नुभएको छ।
उपसभामुख ठाकुरले हाल आफूले प्राप्त गरिरहेका विवाहका निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ। यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उहाँको भनाइ छ।
उहाँले दाइजो लिनु र दिनु मात्र नभई दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय भएको स्पष्ट पार्नुभएको छ। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष आघात पुर्याउने उहाँले उल्लेख गर्नुभयो।
समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै पहल आवश्यक रहेको बताउँदै उहाँले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने जानकारी दिनुभएको छ। साथै, विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश समावेश गर्न सबैलाई आग्रह गर्नुभएको छ।
उपसभामुख ठाकुरले सबैलाई दाइजोमुक्त, समानतामूलक र सभ्य समाज निर्माणका लागि एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ।
दाइजोमुक्त विवाहका लागि उपसभामुखको आह्वान
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





