रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाममा “कुम्भ” चलचित्रप्रति उत्साह, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्रप्रति विशेष आकर्षण

[sharethis-inline-buttons]

धनुष टिभी, जनकपुरधाम ।
नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा थप्ने अपेक्षासहित निर्माण गरिएको हिन्दी–नेपाली भाषाको एक्शन थ्रिलर चलचित्र “कुम्भ” (The Reign of Power) को प्रमोसन कार्यक्रम जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ। विशेषगरी स्वर्गीय अभिनेता सुनिल थापा को अन्तिम चलचित्रका रूपमा रहेको कारण “कुम्भ” प्रति दर्शक तथा चलचित्रप्रेमीहरूको विशेष चासो देखिएको हो।
“ए रस प्रोडक्सन” तथा रा डिजिटल नेपाल को प्रस्तुतिमा निर्माण भएको चलचित्र करिब १ करोड ५० लाख रुपैयाँको लागतमा तयार गरिएको बताइएको छ। जनकपुरधामस्थित रघुपति पार्टी प्यालेस मा आयोजित कार्यक्रममा चलचित्रको कथा, अभिनय, प्रविधि तथा आगामी जेठ १५ गते हुने प्रदर्शनबारे जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता प्रयोगात्मक तथा सशक्त कथावस्तु भएका चलचित्र आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले स्थानीय स्तरमा हुने प्रमोसन कार्यक्रमले चलचित्र उद्योगलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता अशोक आर्यन यादव ले गर्नुभएको थियो भने मधेश प्रदेश प्रमुख राम आशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी, राजनीतिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै वक्ताहरूले स्वर्गीय कलाकार सुनिल थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रमको उद्घोषण विकास साह ले गर्नुभएको थियो भने जेसी दीपक गुप्ता को संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर