रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रसुवामा बाढी : ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन

काठमाडौँ । तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवाका भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा सञ्चालित विभिन्न बैंकका शाखा कार्यालयमा ठूलो क्षति पुगेको छ। बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा रहेका बैंक शाखामा बाढीले गम्भीर क्षति पुर्‍याएको छ। ती शाखामा कार्यरत केही कर्मचारीसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन।

बाढीबाट प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा प्रभावित भएका छन्। कुल ९ बैंक शाखामा क्षति पुगेको भए पनि ८ शाखामा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन रहेको एसोसिएसनले जनाएको छ।

बाढीका कारण टेलिफोन तथा इन्टरनेटका टावरसमेत क्षतिग्रस्त भएकाले सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। प्रभावित क्षेत्रमा तत्काल पुग्न सक्ने अवस्था नरहेकाले बैंकहरूले अहिले कर्मचारीको अवस्था पत्ता लगाउने कार्यलाई प्राथमिकतामा राखेका छन्।

एसोसिएसनका अनुसार कर्मचारीहरूको अवस्थाबारे टुंगो लागेपछि मात्रै बैंकका भौतिक संरचना तथा अन्य क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। यसैबीच, सो क्षेत्रमा सञ्चालित विकास बैंकहरूमा भने हालसम्म ठूलो क्षति नभएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर