रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेश प्रदेश सरकारमा राजनीतिक हलचल, नेकपाका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकारमा राजनीतिक संकट गहिरिँदै गएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सरकारमा सहभागी चार जना मन्त्रीले पदबाट सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले चारै मन्त्रीले आफ्नो राजीनामापत्र ह्वाट्सएपमार्फत पठाएको बताइएको छ।

मन्त्रीहरूले राजनीतिक निकास खोज्ने उद्देश्यसहित सामूहिक रूपमा राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्। राजीनामापत्रमा मुख्यमन्त्रीबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले पद त्याग गर्ने निर्णय गरेको जनाइएको छ।

यससँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। पार्टीले प्रदेश प्रमुखसमक्ष समर्थन फिर्ता लिएको औपचारिक पत्रसमेत बुझाएको छ।

चार मन्त्रीको सामूहिक राजीनामा र समर्थन फिर्ताको निर्णयसँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ परिस्थिति सिर्जना भएको छ। अब प्रदेश सरकारको आगामी राजनीतिक दिशा र सत्ता समीकरण कस्तो बन्ने भन्ने विषय चासोको केन्द्र बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर