अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निरन्तर ओरालो लाग्दै राजनीतिक जीवनकै न्यून स्तर नजिक पुगेको छ। रोयटर्स र फ्रान्सेली सर्वेक्षण संस्था इप्सोसले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको कार्यसम्पादनप्रति समर्थन गर्ने अमेरिकी नागरिकको संख्या ३२ प्रतिशतमा झरेको छ।
सर्वेक्षणले ट्रम्प प्रशासनप्रति अमेरिकी नागरिकको असन्तुष्टि बढ्दै गएको देखाएको छ। विशेषगरी महँगी नियन्त्रण र दैनिक जीवनयापनको खर्च व्यवस्थापनमा कमजोर प्रदर्शन गरेका कारण उनको लोकप्रियता प्रभावित भएको विश्लेषण गरिएको छ।
जीवनयापनको लागत व्यवस्थापनमा ट्रम्पको कामप्रति केवल २१ प्रतिशत अमेरिकीले समर्थन जनाएका छन् भने अर्थतन्त्र व्यवस्थापनमा समर्थन गर्नेको संख्या २५ प्रतिशत मात्रै रहेको छ।
यद्यपि, ट्रम्पको आप्रवासन नीतिप्रति भने तुलनात्मक रूपमा बढी समर्थन देखिएको छ। सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशतले उनको आप्रवासन नीतिलाई समर्थन गरेका छन्। रिपब्लिकन पार्टीका मतदातामध्ये ८१ प्रतिशतले उक्त नीतिको पक्षमा मत दिएका छन्।
सर्वेक्षणअनुसार महँगी र इन्धनको मूल्यवृद्धिले सर्वसाधारणको घरायसी बजेटमा दबाब सिर्जना गरेको छ। यही विषय ट्रम्प प्रशासनप्रतिको जनअसन्तुष्टिको प्रमुख कारण बनेको देखिन्छ।
यसैबीच, मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत गुमाएको विवरणले पनि ट्रम्पको राजनीतिक अवस्थाबारे बहस बढाएको छ।
रोयटर्स र इप्सोसले नोभेम्बर ६ देखि ९ सम्म अनलाइनमार्फत गरेको सर्वेक्षणमा अमेरिकाका १ हजार ७०५ जना वयस्क सहभागी थिए। सर्वेक्षणको त्रुटि सीमा करिब दुई प्रतिशत विन्दु रहेको जनाइएको छ।







