धनुषा — धनुषाधाम नगरपालिका अन्तर्गत रहेको शवडिभिजन वन कार्यालयमा जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरे र डिभिजन बन कार्यालय धनुषाका प्रमुख विनोद सिंहको उपस्थिति रहेको थियो।
कार्यक्रममा वन अधिकृत शंकरनारायण झा, बन समितिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, पत्रकार, जनप्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका मुख्य कारणहरू, यसको असर तथा समाधानका उपायहरूबारे व्यापक छलफल गरिएको थियो।
सचिव घिमिरेले जलवायु परिवर्तनका कारण मधेश प्रदेश लगायत देशभर कृषि, स्वास्थ्य, जल स्रोत, वन तथा वातावरण क्षेत्रमा गम्भीर असर परेको स्पष्ट पारे। “हरेक वर्ष डढेलोको संख्या बढ्दो छ, लामो समयसम्म वर्षा नहुनु, पानीका मुहानहरू सुक्दै जानु र जमिनमा पानीको स्तर घट्नु जस्ता समस्या जलवायु परिवर्तनकै परिणाम हुन्”, उनले भने। उनले जल स्रोतहरू पहिले नजिकै रहेका तर अहिले टाढा भइसकेको उदाहरण दिंदै जलवायु परिवर्तनले मानव जीवन मात्र नभई वन्यजन्तुहरू समेत प्रभावित भएको बताए।
सचिव घिमिरेले जलवायु परिवर्तनको समस्या नेपालले मात्र नभई अन्तर्राष्ट्रिय कारणले भोग्नुपरेको उल्लेख गरे। साथै, यसबाट बच्न र समाधान खोज्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारको ‘एक व्यक्ति, एक बिरुवा’, ‘पानी स्टक निर्माण’, ‘सेफ्टी फस्ट’ लगायतका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।
धनुषाधाम क्षेत्रमा रहेका वन तथा जैविक विविधता संरक्षणमा स्थानीय सरकारको भूमिका अझै बढाउनुपर्ने र विकास निर्माण कार्यहरूमा वातावरणमैत्री योजना लागू गर्नुपर्ने सचिव घिमिरेले बताए।




