अनिलकुमार निराला, धनुष टिभी
महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आयोजित बालविवाह न्यूनीकरण तथा सामाजिक सचेतना कार्यक्रममा मधेश प्रदेशकी पूर्व शिक्षा मन्त्री रानी शर्मा तिवारीले समाज परिवर्तन बिना दिगो विकास सम्भव नरहेको बताएकी छन्।
कार्यक्रमकी प्रमुख अतिथि तिवारीले बालविवाह, अशिक्षा तथा सामाजिक विकृतिको अन्त्यका लागि सम्पूर्ण समाज जागरूक र जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै भनिन्, “समाज परिवर्तन भए मात्र विकास सम्भव हुन्छ र बालविवाहमुक्त समाज निर्माण गर्न सकिन्छ।”
उनले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षित भविष्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै बालविवाहले समाजको समग्र विकासमा नकारात्मक असर पार्ने धारणा व्यक्त गरिन्।
कार्यक्रममा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारले अभिभावकहरूलाई आफ्ना छोराछोरीको भविष्य सुरक्षित बनाउन २० वर्ष नपुगी विवाह नगर्न र नगराउन आग्रह गरे। उनले बालविवाहले शिक्षा, स्वास्थ्य तथा आर्थिक अवस्थामाथि गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।
वडा नं. ७ का वडाध्यक्ष रामछविला यादवले आफ्नो वडालाई बालविवाहमुक्त, सुरक्षित र समुन्नत समाजको नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्दै बालविवाहविरुद्ध सामूहिक अभियान सञ्चालन गरिने बताए।
कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा बालअधिकार, शिक्षा प्रवर्द्धन, महिला सशक्तीकरण तथा सामाजिक सुधारमा योगदान पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वलाई सम्मानपत्र र प्रमाणपत्र प्रदान गरिएको थियो।
सहभागीहरूले बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा समतामूलक समाज निर्माणका लागि संयुक्त प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले जलेश्वर नगरपालिकाभित्र बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ।
२० वर्षअघि विवाह नगराउन मेयर सोनारको आग्रह
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






