जनकपुरधाम, २० बैशाख — नेकपा एमाले धनुषा जिल्ला समिति अन्तर्गतको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र शनिबार जनकपुरधाममा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षता तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
उद्घाटन सत्रमा एमाले सचिव रघुबीर महासेठ, नेता लिलानाथ श्रेष्ठ, सांसद जुली महतो, सुमन पोखरेल, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया, केन्द्रीय सदस्य सन्जीव झा, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल र प्रदेश सांसद लखन दास लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
प्रमुख अतिथि पोखरेलले अधिवेशन नेतृत्व चयनको प्रक्रिया भएको भन्दै नेताहरूलाई ूखेलाडी होइन, रेफ्री बन्नू आग्रह गरे। उनले योग्यता र समावेशी सहभागिताका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताए। महिला, युवा, जनजाति तथा पिछडिएको समुदायको सहभागिता अनिवार्य हुनुपर्छ,पोखरेलले भने।
उनले पार्टी भित्र प्रतिस्पर्धालाई स्वस्थ रूपमा स्वीकार गर्न पनि सबैलाई आग्रह गरे। ूचुनावमा तयारी गर्ने तर नतिजा नमान्ने प्रवृत्ति रोगजस्तै भएको छ, त्यो सुधार गर्नुपर्छ,ू उनले भने।
मधेश प्रदेश सरकारमा एमाले पनि सहभागी भएको सन्दर्भ उल्लेख गर्दै पोखरेलले योजना खरिदबिक्रीजस्ता गतिविधि सुनेको बताउँदै त्यसप्रति गम्भीर आपत्ति जनाए। ूयस्तो कामले पार्टीको बदनाम मात्रै होइन, जनविश्वास गुमाउने खतरा पनि हुन्छ, उनले चेतावनी दिए।
अधिवेशनमार्फत नयाँ जिल्ला नेतृत्व चयन गरिनेछ। कार्यक्रममा जिल्ला भरका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।




