धनुषा,२९बैशाख – जनता समाजवादी पार्टी, नेपाल धनुषा जिल्लाको हालै सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव सर्वाधिक मत प्राप्त गरी जिल्ला उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
निर्वाचनमा व्यापक समर्थन प्राप्त गरेपछि उनले पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि तथा सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरेका छन्।
नव-निर्वाचित उपाध्यक्ष यादवले आफ्नो भनाइमा भने, “तपाईंहरूको अटुट विश्वास, साथ र सहयोगले ममाथि थप जिम्मेवारी बढेको अनुभूति भएको छ। म पार्टी, समाज तथा जनताको हितमा ईमानदारिता र निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले आगामी दिनहरूमा पनि निरन्तर साथ, सल्लाह र सुझावको अपेक्षा गर्दै “जय जनता, जय समाजवाद!” भन्ने नाराका साथ धन्यवाद ज्ञापन गरेका छन्।




