धनुषाको ग्रामीण क्षेत्रमा आधुनिक सुविधा सम्पन्न जनसेवा गनौर देव (जीडी)अस्पताल संचालनमा आएको छ। विदेह नगरपालिका–३ स्थित विश्वकर्मा चोक (गरढनिया) मा नवनिर्मित अस्पताल आइतबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो।
अस्पतालको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन र रिबन काटेर गरियो। यसअघि गोबराही गाउँमा रहेको अस्पताललाई स्थानान्तरण गरी नयाँ भवनबाट सेवा सुरु गरिएको हो।
उद्घाटन समारोहमा बोल्दै नेता अरगरियाले गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउनु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै भने, “अब यस क्षेत्रका जनतालाई उपचारका लागि काठमाडौं, विराटनगर वा जनकपुरधाम जानुपर्ने आवश्यकता रहने छैन।” उनले गरिब, विपन्न वर्गका नागरिकको उपचार सहज बनाउने यो पहल ऐतिहासिक रहेको बताए।
विशिष्ट अतिथि विदेह नगरपालिकाका मेयर बेचन दासले पनि अस्पताल व्यवस्थापनलाई धन्यवाद दिंदै स्थानीयस्तरमै गुणस्तरीय सेवा पाउन अब सम्भव भएको बताए।
अस्पतालका संचालक डा। रतिश कुमार यादवले प्रारम्भमा १५ शैयाबाट सेवा सुरु गरिएको जानकारी दिँदै अनुभवी चिकित्सकमार्फत सेवा प्रदान गरिने बताए। हाल अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, ओपीडी, भिडियो एक्सरे, ल्याब, फार्मेसी र डेलिभरी सेवा उपलब्ध रहेको उनले बताए।
प्रबन्ध निर्देशक डा। राजनिश यादवले जनताको सल्लाह, सुझावलाई आत्मसात् गर्दै सेवा विस्तार गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा विदेह नगरपालिका उपप्रमुख आशा देवी झा, वडा अध्यक्षहरु संजय पाण्डे र रामपुकार सहनी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय समाजसेवीहरुको उपस्थिति थियो। सबैले अस्पतालको सफलताको कामना व्यक्त गरेका थिए।




