जनकपुरधाम, माघ ५
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट भातृ संगठन समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ धनुषाको संयुक्त आयोजनामा १८औं बलिदानी दिवसका अवसरमा जनकपुरधाममा दीपप्रज्वलन र श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
मधेश जनआन्दोलनका पहिलो शहीद विद्यार्थी नेता रमेश महतोको बलिदानलाई स्मरण गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ मा रहेको रमेश चौकमा दीप प्रज्वलन गरियो। विद्यार्थीका जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा भएको कार्यक्रममा सहभागीहरूले मधेशी जनताको हक-अधिकारका लागि भएका संघर्ष र रमेश महतोको योगदानलाई श्रद्धापूर्वक सम्झिए।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य लालकिशोर साह र जितेन्द्र यादव, प्रदेश सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्र यादव, पूर्वसचेतक शैलेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष रामशंकर पासमान, ललित मण्डल, जिल्ला सचिव बरुण यादव, र अन्य स्थानीय नेताहरूको उपस्थिति थियो।
त्यसैगरी, समाजवादी विद्यार्थी युनियन र युवा संघका नेताहरू, विद्यार्थी, र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले मधेश आन्दोलनका क्रममा शहीद भएका रमेश महतोको बलिदानले मधेशी अधिकारका लागि नयाँ ऊर्जा र प्रेरणा दिएको उल्लेख गरे।
कार्यक्रममा शहीदहरूको सम्झनामा मैनबत्ती बाल्दै उनीहरूको योगदानको कदर गर्दै आगामी दिनमा मधेशी जनताको हक अधिकारका लागि अझै सशक्त आन्दोलनको आवश्यकता रहेको धारणा राखियो। कार्यक्रममा सहभागी सबैले मधेशी हकका लागि संघर्षरत प्रत्येक व्यक्तिलाई सम्मान गर्दै शहीदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाए।




