जनकपुरधाम, माघ ७ – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगिताबाट राजर्षि जनक विश्वविद्यालयको नाम अन्तिम समयमा हटाएपछि जनकपुरमा विरोध प्रदर्शन भएको छ। आक्रोशित विद्यार्थीहरूले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेका छन्।
राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरूले जनकपुरधामको रामानन्द चोकमा विरोध प्रदर्शन गर्दै नेविसंघ र कांग्रेस नेताहरूविरुद्ध नाराबाजी गरेका थिए। विरोध प्रदर्शनको नेतृत्व विद्यार्थी जनमत संघ, राजर्षि जनक विश्वविद्यालय समितिका अध्यक्ष एवं स्ववियु सभापति पदका उम्मेदवार सशिकान्त मण्डलले गरेका थिए।
विद्यार्थी नेता श्याम साहका अनुसार जय नेपाल कपको खेल तालिकामा सुरुमा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश गरिएको थियो। तर, अन्तिम समयमा विश्वविद्यालयको नाम हटाइएको भन्दै उनीहरूले असन्तोष व्यक्त गरेका छन्।
साहले भने, “शनिबार बिहानसम्म हाम्रो विश्वविद्यालयको नाम खेल तालिकामा थियो। प्रशिक्षक नियुक्त गरी खेल सामग्रीसमेत खरिद गरेर टोली तयार गरिरहेका थियौं। तर, अन्तिम समयमा नाम हटाएर नेविसंघले अन्याय गरेको छ।”
तीन देशका ८ विश्वविद्यालयको सहभागिता
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने जय नेपाल कपमा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी हुने जनाइएको छ। तर, राजर्षि जनक विश्वविद्यालयको नाम हटाइएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्।
विद्यार्थीहरूले नाम हटाइएको कारण तत्काल सार्वजनिक गर्न र न्याय दिलाउन माग गरेका छन्। अन्यथा आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।




