धनुषा,फागुन १ – धनुषाधाम नगरपालिका क्षेत्रका विभिन्न स्थान, जस्तै मालटोल, मुर्गिया, वालुवा खोला लगायतका नदी तथा खोलाहरूबाट अवैध रूपमा ग्राभेल, वालुवा, ढुङ्गागिट्टी, भरौठ लगायतका नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको गुनासो नगरपालिकाले प्राप्त गरेको छ।
नगरपालिकाले कुनै पनि ठेक्का सम्झौता नगरिएको अवस्थामा यस्ता गतिविधिहरू पूर्ण रूपमा गैरकानुनी रहेको स्पष्ट गर्दै, यसले वातावरणीय सन्तुलनमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। अवैध उत्खनन नियन्त्रणका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सजित प्रसाद दासले सम्बन्धित सुरक्षा निकायहरूसँग समन्वय गर्दै कानूनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
नगरपालिकाले अवैध उत्खनन तथा ढुवानी रोक्न स्थानीय प्रहरी, सशस्त्र प्रहरी र वडा कार्यालयहरूलाई आवश्यक निर्देशन दिइसकेको छ। यसबारे थप कडाइ गर्दै नगरपालिकाले दोषीहरूमाथि कानूनी कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।




